ad ad

ग्लोबल


लिंकनदेखि ट्रम्पसम्म : यी हुन् गोली लागेर मारिएका र बाँच्न सफल अमेरिकी राष्ट्रपति

४५ मध्ये ४ जनाको राष्ट्रपति छँदै हत्या, जो छातीमा गोली बोकेर भाषण गर्न हिँडे
लिंकनदेखि ट्रम्पसम्म : यी हुन् गोली लागेर मारिएका र बाँच्न सफल अमेरिकी राष्ट्रपति

नेपालखबर
असार ३०, २०८१ आइतबार १५:४,

पेन्सलभेनियाको चुनावी सभामा गोली प्रहार हुँदा पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प केही सेन्टिमिटरको फरकले बाँच्न सफल भए। एक २० वर्षीय आक्रमणकारीले प्रहार गरेको गोलीले उनको दायाँ कानमा चोट लागेको छ।

यो घटनाले अमेरिकामा राजनीतिक हिंसाको नयाँ चरण सुरु गर्न सक्ने चिन्ता व्यक्त गरिँदैछ। तर, अमेरिकामा राष्ट्रपति तथा राष्ट्रपतिका उम्मेदवारहरूको हत्या तथा हत्याप्रयासको घटना नौलो भने होइन।

हालसम्म अमेरिकामा ४५ जना राष्ट्रपति भए। त्यसमध्ये ४ जना त राष्ट्रपति रहँदै मारिएका थिए भने १३ जनाको हत्या प्रयास भएको थियो। 

जो राष्ट्रपति छँदै मारिए
सन् १८६५ मा अब्राहम लिंकन र १९६३ मा जोन एफ केनेडीको हत्या अमेरिकाको इतिहासमा महत्वपूर्ण क्षणका रूपमा अंकित छन्। जेम्स गारफिल्ड (१८८१) र विलियम म्याककिन्ली (१९०१) को हत्याको ज्यादा स्मरण गरिन्न। तर, ती दुई घटनाले पनि तत्कालीन समयमा समग्र मुलुक हल्लाएको थियो।

यी चार जना राष्ट्रपति रहँदै मारिएका थिए। तर, तीमध्ये लिंकनको हत्यालाई मात्रै ठूलो षड्यन्त्रको नतिजा मान्ने गरिन्छ। तर, अन्य हत्याका विषयमा अझै पनि थुप्रै अड्कलबाजी गरिँदै आएको छ।

जो गोली लागेर पनि बाँचे
केही भाग्यमानी राष्ट्रपतिहरू भने गोली लागेर पनि बाँच्न सफल भए।

१९३३ मा चुनाव जितेका तर शपथ लिइनसकेका राष्ट्रपति फ्र्यांकलिन डिलानो रुजबेल्टको कारमा एक बन्दुकधारीले ५ गोली हानेका थिए। गोली रुजबेल्टलाई लागेन। तर, उनीसँगै रहेका सिकागोका मेयर एन्टोन सेरमाग घाइते भए। १९ दिनपछि उनको ज्यान गयो।

सेप्टेम्बर १९७५ मा राष्ट्रपति जेराल्ड फोर्ड दुई अलगअलग हत्याप्रयासबाट बच्न सफल भए। दुवै पटक आक्रमणकारी महिला थिए। पहिलो घटना सेप्टेम्बर ५ का दिन भयो। चार्ल्स म्यान्सनकी चेली लिनेट फ्रम्मीले क्यालिफोर्नियाको एक पार्कमा हिँडिरहेको बेला फोर्डलाई गोली हान्ने कोसिस गरेकी थिइन्। तर, उनको बन्दुक पड्किएन।

२२ सेप्टेम्बरमा कट्टरपन्थी समूहमा आबद्ध सारा जेन मुरले सान फ्रान्सिस्कोमा होटलबाट निस्किँदै गरेको फोर्डमाथि एक गोली चलाइन्। तर, गोली फोर्डलाई लागेन।

उम्मेदवारहरूमध्ये सबैभन्दा बढी चर्चा सिनेटर रोबर्ट एफ केनेडीको हत्याको हुने गर्छ। १९६८ मा उनको ज्यान लिइएको थियो। १९७२ अर्का उम्मेदवार जर्ज वालेस गोली लागेपछि प्यारालाइसिसको सिकार भएका थिए।

१९१२ मा चुनावी अभियानमा रहेका पूर्वराष्ट्रपति थियोडर रुजबेल्टको छातीमा गोली प्रहार भएको थियो। तर, गोलीको अधिकांश तेज छातीको खल्तीमा भएका चिजबिजमा ठोक्किएर कम भयो। जसका कारण गोली उनको छातीमा ज्यादा भित्रसम्म जान पाएन। र, छातीमा गोली बोकेरै उनी चुनावी भाषण गर्न गएका थिए।

राष्ट्रपतिको उम्मेदवार नभए पनि ठूलो राजनीतिक शक्ति भएका मार्टिन लुथर किङ जुनियरको हत्या (१९६८) पनि अमेरिकाको इतिहासमा एउटा भयानक क्षण थियो।

गत ९ राष्ट्रपतिमध्ये कम्तीमा ७ जनामाथि आक्रमण भएको थियो। १९८१ रोनाल्ड रेगनको झण्डै ज्यान गएको थियो। १९९४ मा बिल क्लिन्टन राष्ट्रपति छँदा ह्वाइट हाउसमै गोली चलेको थियो। जर्ज डब्ल्यू बुस जर्जिया भ्रमणमा रहँदा ग्रिनेड आक्रमण भएको थियो, तर विस्फोट नहुँदा उनको ज्यान बचेको थियो।

अमेरिकामा बन्दुक सहजै पाइन्छ। त्यसैले हत्या र हत्याप्रयासमा बन्दुकको ज्यादा प्रयोग हुने गरेको छ।  एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .