ad ad

ग्लोबल


म:मको स्वादमा पल्किए भारतीय, हिमाली खानाले मैदानका मान्छेलाई यसरी लायो मोहनी

म:मको स्वादमा पल्किए भारतीय, हिमाली खानाले मैदानका मान्छेलाई यसरी लायो मोहनी

नुपुर रूपा
साउन ७, २०८१ सोमबार ९:२५,

कलेजकी विद्यार्थी सोनाक्षी वर्मा नयाँ दिल्लीको व्यस्त सडकमा ठेलमेल गर्दै म:मको दोकानअघि पुग्छिन्। साँझमा मात्रै खुल्ने दोकानमा हल्लाखल्ला छ, कोही म:म खाने तयारीमा छन्, कोही पर्खिरहेका छन्।

‘दाइ! एक प्लेट भेज म:म,’ भीडको हल्लाखल्लालाई चिर्ने कोसिस गर्दै ठूलो स्वरमा उनी भन्छिन्।

आफ्नो प्लेट पाएपछि उनी बोकेर टेबलमा जान्छिन्। अचारसँगैका चार वटा नरम, गोला म:मका डल्लालाई लोभी नजरले हेर्छिन्। 

उनी बडो होसियारीपूर्वक एउटा म:म रातो खुर्सानीको अचारमा चोब्छिन्, आँखा चिम्लिन्छिन्, गहिरो सास लिन्छिन् र टोक्छिन्। म:मको नरम बाहिरी भाग च्यातिन्छ र भित्रको प्याज, लसुन उनको मुखमा पर्छ। 

दुइटा खाएपछि उनी भन्छिन्, ‘यी म:म खाइहाल्ने लोभसँग लडिरहेकी छु म। सँगसँगै, म:म छ भनेर आनन्द पनि लिइरहेकी छु।’

वरिपरि हेर्दा भीडमा अधिकांश विद्यार्थी र युवायुवती देखिन्छन्। अर्को टेबलमा बुढी महिलासँग बसिरहेकी सानी केटी आफूहरुतिर म:म लिएर आउँदै गरेका एक पुरुष र एक केटालाई हेर्दै कराउँछिन्, ‘हजुरआमा म:म आयो!’ त्यसपछि परिवार सँगै बसेर म:म खान थाल्छ।

म:म भारतमा लोकप्रिय हुँदै गएको छ। 

म:मको उत्पत्तिको विषयमा ठ्याक्कै थाहा छैन।

‘म:म सधैँ हिमालय क्षेत्रको खाना रहँदै आएको छ,’ पुरातत्वविद् तथा पाककला मानवशास्त्री कुरुस एफ दलाल भन्छन्, ‘हिमालय र तिब्बतका बासिन्दाका लगभग सबै समुदायमा डम्पलिङ बनाउने चलन छ, जसलाई आज हामी म:म भन्छौँ।’

यसको प्रचलन युरोपदेखि चीनसम्म रहेको उनको भनाइ छ।

म:म तिब्बतमा उत्पत्ति भएको दलालको अनुमान छ। किनकि म:म तिब्बती शब्द हो। तर, यो परिकार नेपाल, भुटानदेखि उत्तराखण्ड र हिमाचल प्रदेशसम्म खाइन्छ। 

‘खाना पनि त्यही बाटोबाट हिँड्छ, जुन बाटोमा व्यापार हुन्छ। व्यापारीसँगसँगै तिनको खाना पनि हिँड्छ,’ दलाल भन्छन्। 

नेपालको नेवारी समुदायले शताब्दियौँदेखि तिब्बतसँग व्यापार गर्दै आएको थियो। नेपालीहरुको म:ममा प्रायः मासु हुन्छ।

भारतमा म:म
कोलकातामा म:म तिब्बती शरणार्थीसँगै आइपुग्यो। जो १९६० मा भारत पसेका थिए। त्यसको अघिल्लो वर्ष दलाइ लामा भागेर भारतमा शरण लिन आइपुगेका थिए। आज भारतमा करिब ८० हजार तिब्बती शरणार्थी छन्।

कोलाकातामा सबैभन्दा प्रसिद्धमध्येको एक म:म पसल टिबेटन डिलाइट चौरंगीमा अझै रहेको दलाल बताउँछन्। त्यो घरको सामुन्ने तिब्बती शरणार्थी परिवार बस्थे। जहाँ मानिसहरु स्टिम म:म किन्न पाउँथे। प्रायः पोर्क म:म बेचिन्थ्यो। प्लेटमा दिइने म:म नजिकै बेन्चमा बसेर खाइन्थ्यो।

१९९० र २००० को दशकमा दिल्ली र कोलकातामा म:म अति लोकप्रिय भए। डोमा वाङ ३० वर्षअघि कोलकाताको साल्ट लेक आइन्। आफ्नो घरबाटै म:म बेच्ने एक वृद्धाबाट प्रेरित भएर उनले १९९२ मा म:म बेच्न थालिन्। र, २००५ मा ब्लु पप्पी रेस्टुरेन्ट खोलिन्। वाङ यति लोकप्रिय भइन् कि उनलाई ग्राहकहरुले ‘कोलकाताकी म:म रानी’ भन्न थाले।

१९९४ मा नयाँ दिल्लीको दिल्ली हाटमा खुला आकाशमुनिको एउटा ठेलाले उत्तरपूर्वका मानिसहरुलाई आकर्षित गर्न थाल्यो। किनकि त्यहाँ म:म बेचिन्थ्यो। पहिले पोर्क, पछि चिकेन। 

त्यसबेला थुप्रै नेपाली र तिब्बतीहरु दिल्ली आउँथे। विद्यार्थी, शरणार्थी र कामदारका रुपमा। आप्रवासीहरु सहरमा च्याउसरी उम्रिन थालेका म:म पसलका ग्राहक मात्रै थिएनन्। उनीहरु म:म बनाउन पनि जान्दथे। त्यसकारण कामदार पनि बन्न थाले।

तर, भारतीयहरुलाई त्यतिबेला म:म मन परेन। मुम्बईस्थित ब्रान्ड म्यानेजर विपुल यादवका अनुसार ज्यादा मुलायम लाग्यो उनीहरुलाई यो परिकार। उनले आफूले सुनेको एउटा कथा सुनाए– डोल्मा आन्टी भनेर चिनिने डोल्मा छिरिङले १९९४ मा नयाँ दिल्लीको लाजपत नगरमा पहिलो म:म पसल खोल्दा सुरुमा ग्राहक नै आएनन्।

मान्छेहरुलाई लाग्थ्यो, म:म काँचै हुन्छ, राम्ररी पाकेको हुँदैन। त्यसैले डोल्मा आन्टीले त्यसलाई अचारसँग दिन थालिन्। 

‘अचार भारतीय भोजनको अभिन्न हिस्सा हो,’ उनी भन्छन्, ‘मानिसहरु प्रायः त्यो परिकार याद राख्छन्, जसमा मरमसाला हुन्छ। कुनै पनि सडक पसल या रेस्टुरेन्टको लोकप्रियता यसैले निर्धारित गर्छ। म:म पनि यसको अपवाद होइन,’ उनी भन्छन्।

भारतमा प्रायः म:म ठेला, कुनाका पसल र साना रेस्टुरेन्टमा बेचिन्छ। यस्ता पसल प्राय साँझमा मात्रै खुल्छन् र केही घण्टा चल्छन्। ग्राहकले प्रायः उभिएर खान्छन्। तर, केही पसलमा टेबल र कुर्सीको व्यवस्था हुन्छ। 

भारतका हरेक सहर र केही गाउँमा पनि अनेक प्रकारका म:म पाइन्छन्। जसलाई सधैँ अचारको साथ पस्किइन्छ।

प्रायः म:म मैदामा मासुको किमा बेरेर बनाइन्छ। तर, बुद्धजयन्तीको महिनामा तिब्बतीहरु बन्दा, प्याज, लसुन र छुर्पीबाट बनेको भेज म:म खाने वाङ बताउँछिन्। 

राम्रो म:मको रहस्य यसको बोक्रामा लुकेको उनको भनाइ छ। ‘ज्यादा बाक्लो वा ज्यादा पातलो हुनु हुँदैन,’ वाङ भन्छिन्। 

मासु र प्याजको अनुपात पनि स्वादका लागि महत्वपूर्ण हुने उनको भनाइ छ।

भेज र ननभेज गरी अनेकौँ प्रकारका म:म पाइन्छन्। चिज, पनिर, झोल, ग्रेभी, कोथे, तन्दुरी, हक्का, अफगान, सिचुवान। तर, सबैभन्दा लोकप्रिय चाहिँ भेज र चिकेन हुन्। 

आलु र चिज, च्याउ र प्याज, अदुवा, लसुन र हरियो खुर्सानी अनि म्यागी चाउचाउ हालिएका म:म समेत कतैकतै चलनमा छन्। चकलेट लाभा केक हालिएको गुलियो म:म पनि हुन्छ।

‘कुरकुरे म:म खतरा हुन्छ,’ पाक्कला विज्ञ रुसिना मुन्स गिल्दियाल भन्छिन्।

म:मको लोकप्रियताको कारण
म:म लोकप्रिय छ किनकि यो स्वादिष्ट हुन्छ। सँगसँगै सस्तो पनि। ६ वटा म:म भएको एक प्लेटको मूल्य ६०–९० भारतीय रुपैयाँ पर्छ। त्यसैले थोरै पैसामा पेट भरिने खानाको विकल्प बनेको छ म:म।

‘बेलुका तातो म:म खाँदा आउने चरम आनन्द नै यसको लोकप्रियताको मुख्य कारण हुनसक्छ,’ गिल्दियाल भन्छिन्, ‘तातो, पिरो र नुनिलो, यो छ नै मनपर्ने।’

र, म:मको यो लोकप्रियता कायम रहने बताउँछिन् चिया ब्रान्ड चायवेदाकी संस्थापक प्रेरणा कुमार। उनले भारतीय खानपान परम्परा र प्रवृत्तिबारे निकै अध्ययन गरेकी छन्।

‘समोसाजस्तै यो भारतीय खानपिनको हिस्सा बनिसकेको छ। स्थानीय स्वादसँग प्रयोग गर्दैगर्दै नयाँ स्वादका म:म बन्ने छन्,’ उनी भन्छन्।

मुम्बईकी इन्जिनियरिङ अध्ययनरत विद्यार्थी अनुष्का पुराणिक भन्छिन्, ‘हरेक मौसमका लागि अलग खाले म:म छ। र, यसले दिने सन्तुष्टि अरु केहीले दिन सक्दैन।’ अलजजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .