ad ad

ग्लोबल


विदेशमा रहेका एक सय नेपालीमा कोरोना संक्रमण, आठ जनाको मृत्यु

विदेशमा रहेका एक सय नेपालीमा कोरोना संक्रमण, आठ जनाको मृत्यु

नेपालखबर
चैत २६, २०७६ बुधबार ७:१४,

रोजगारी तथा अध्ययनका लागि विभिन्न देशमा पुगेका एक सय जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। हालसम्म विदेशमा रहेका ८ जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ।

युएईमा १, बेलायतमा २ र अमेरिकामा ५ नेपालीको ज्यान गएको छ। नेपाली दूतावासहरुले दिएको जानकारीअनुसार विभिन्न १४ देशमा रहेका संक्रमित नेपालीको संख्या एक सय पुगेको हो।

सबैभन्दा धेरै नेपाली अमेरिकामा संक्रमित भएका छन्। त्यहाँस्थित नेपाली दूतावासको जानकारीअनुसार मंगलबारसम्ममा ३२ जना नेपालीमा संक्रमण देखिएको छ। तर बिरामीको जानकारी गोप्य राख्ने अमेरिकाको नीतिका कारण धेरै नेपालीको संख्या छुटेको दूतावासको अनुमान छ।

यो संख्या नेपाली दूतावासले पत्ता लगाएका संक्रमितको मात्रै हो। संक्रमितको विभिन्न अस्पतालमा र कतिपयको घरमै उपचार भइरहेको छ। अमेरिकामा हालसम्म संक्रमितको संख्या ४ लाख नाघेको छ। मृतकको संख्या बुधबार बिहानसम्ममा १२ हजार ८ सय ५७ पुगेको छ।

अमेरिकापछि बहराइनमा नेपाली संक्रमितको संख्या धेरै छ । त्यहाँ मंगलबारसम्ममा १२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। युएई र पोर्चुगलमा ११/११ जना नेपाली संक्रमित छन्।

बेलायतमा १० र अस्ट्रेलियामा रहेका ८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्विट्जरल्याण्डमा ५ र साउदी अरबमा ४ जना नेपालीमा कोरोना देखिएको छ।

कुवेतमा पनि दुई जनामा कोराना संक्रमण देखिएको छ। हङकङ, जापान, मलेसिया र इजरायलमा पनि एक एक जना नेपालीमा कोरोना देखिएको छ।

चार लाख बढी कार्यरत रहेको कतारले भने कोरोना संक्रमितको संख्या देशगत उपलब्ध नगराएको दूतावासले जनाएको छ। कतारले पनि विरामीको सूचना गोप्य राख्ने भन्दै समुदायगत रुपमा जानकारी दिएको छैन।

हालसम्म त्यहाँ संक्रमितको जम्मा संख्या २ हजार ५७ जना पुगेको छ। त्यहाँ कोराना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण हालसम्म १४ लाख ३२ हजार ३ सय ७३ जना संक्रमित छन्।

८२ हजार १ सय १४ जनाको ज्यान गइसकेको छ। नेपालमा हालसम्म ९ जनामा संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .