ad ad

ग्लोबल


फेरि अष्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स, सरकारले आउन देला नेपाली?

फेरि अष्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स, सरकारले आउन देला नेपाली?

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ९:३९,

आगामी मे महिनाको पहिलो साता नेपाल एयरलान्सको एउटा विमान अष्ट्रेलियाको सिड्नी जाने भएको छ। काठमाडौंस्थित अष्ट्रेलियन दूतावासको व्यवस्थापनमा यो पटक अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिक बोकेर नेपाल एयरलाइन्स सिड्नी उड्न लागेको हो।

‘मे ६ (वैशाख २४) मा काठमाडौंबाट विमान जाने भएकाले अष्ट्रेलिया फर्किन चाहनेले सम्पर्क गर्न आह्वान गर्दछौं’, काठमाडौंस्थित अष्ट्रेलियन राजदूत पिटर बडले ट्विटरमा एउटा सन्देश पोष्ट गर्दै भनेका छन्। टिकटका लागि नेपाल एयरलाइन्समा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।

नेपाल एयरलाइन्सको वाइडबडी विमान अष्ट्रेलिया जाने विषय निश्चित भइसकेको नेपाल वायुसेवा निगम स्रोत बताउँछ। ‘जहाज जाने विषयमा सहमति भइसकेको छ’, नेपाल वायुसेवा निगम स्रोतले नेपालखबरसँग भन्यो, ‘उडानको रकम सम्झौताबारे माथिल्लो तहमा थाहा होला। हामी आन्तरिक पक्ष मिलाइरहेका छौं।’

नेपाल एयरलाइन्स अष्ट्रेलिया जाने विषयसँगै जोडिएको अर्को पक्ष पनि छ। यताबाट अष्ट्रेलियन, न्युजिल्यान्ड नागरिक बोकेर गएको जहाज फर्किंदा के लिएर आउँछ? नेपाली बोकेर वा रित्तै?

यो विषयमा अष्ट्रेलिया रहेका नेपालीले चासोपूर्वक हेरिरहेका छन्।

सरकारले अहिलेसम्म भन्दै आएको छ, ‘कोरोना लकडाउनको अवस्था छ। जहाँ छौ त्यहीँ सुरक्षित बस। नेपाल नआऊ।’ सरकारको यो नीतिका कारण चैत १९ मा अष्ट्रेलिया पुगेको नेपाल एयरलाइन्सको वाइडबडी विमान रित्तै फर्किएको थियो।

क्यानबेरा, अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार यो पटक नेपालीहरुले स्वदेश फर्किने चाहना अधिकारिक रुपमै गरिरहेछन्। उनीहरुले फर्किन पाउ भन्दै दूतावास समक्ष अनुरोध गरिरहेका हुन्।

कोरोना संक्रमण बढ्दै जाँदा त्यहाँ स्टोर र मेडिकल बाहेक अन्य क्षेत्र बन्द छन्। कमाएर कलेज शुल्क र कोठा भाडा तिर्नुपर्ने विद्यार्थी समस्या छन्। छोराछोरी भेट्न गएका कतिपय बुवाआमाहरु उतै अड्किएका छन्। उनीहरु नेपाल फर्किन आतुर छन्।

नेपाल फर्किन चाहनेको दवाब बढेपछि दूतावासले एउटा सार्वजनिक सूचना जारी गरेको छ। त्यसमा भनिएको छ, ‘नेपाल एयरलाइन्स अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिक लिएर आउन लागेको सन्दर्भमा सो जहाजमा यहाँ रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीलाई फर्काउनु पर्ने माग टेलिफोन, इमेलबाट प्राप्त भइरहेको छ।’

फर्किन पाऊ भन्नेहरुलाई दूतावासले उनीहरुलाई ठोस जवाफ दिएको छैन। ‘नेपाली नागरिकबाट प्राप्त अनुरोधहरुलाई दूतावासले अत्यन्त गम्भीरताका साथ ग्रहण गरेको छ। हामी सबै अनुरोध नेपाल सरकार समक्ष पुर्याउने काम गरिहेका छैं’, दूतावासले भनेको छ।

नेपाली दूतावास स्रोतले नेपालखबरलाई बताएअनुसार अष्ट्रेलियामा १ लाख २० हजार नेपाली छन्। यी मध्ये ७० हजार विद्यार्थी हुन्।

अष्ट्रेलियाका लागि नेपाली दूतावसको सूचना:

embassy notice

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .