पछिल्लो वर्ष सय वर्षे बर्थडे मनाएका कालेबुङ जिल्लाको गोरुबथान निवासी साहित्यकार हायमान दास राई किरात (१०१) को आइतबार राति निधन भएको छ।
११ फरवरी १९१९ मा जन्मेका साहित्यकार किरात साहित्य लेखन र संवर्द्धन दुवैका लागि नेपाली साहित्यमा सम्मानित नाम हो।
लेखन र प्रकाशनको हिसाबले हायमान दास राई किरातको पहिलो कथा ‘शुरवीर’ गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ भन्दा जेठो हो। किरातको शुरवीर कथा १९३४ सालमै नेपालको शारदा पत्रिकामा प्रकाशित भएको थियो।
उनका १२ कथा सङ्ग्रह, तीन उपन्यास र तीनैवटा कविता सङ्ग्रह प्रकाशित छन्। राईले केवल साहित्य लेख्ने काम मात्र गरेनन्। तर, १९५० को दशकमा ‘नवयुग पुस्तक मन्दिर’जस्तो बलियो प्रकाशन संस्थाको स्थापना गरी इन्द्रबहादुर राई, हृदयचन्द्रसिंह प्रधान, हरिभक्त कटुवाल र नरबहादुर दाहालजस्ता प्रतिष्ठित साहित्यकारहरूका पुस्तकहरू प्रकाशन गरेका थिए।
जीवनको उत्तरार्धसम्म लेखन र अध्ययनमा सक्रिय हायमान दास राई किरातलाई उनको कथा सङ्ग्रह ‘केही नमिलेका रेखाहरू’-का लागि सन् २००८ मा साहित्य अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो।
प्रतिक्रिया