ad ad

ग्लोबल


के मलेसियामा अमानवीय तरिकाले कुटिएका सुरक्षा गार्ड नेपाली हुन?

के मलेसियामा अमानवीय तरिकाले कुटिएका सुरक्षा गार्ड नेपाली हुन?

नेपालखबर
साउन १७, २०७७ शनिबार १६:४४,

‘के यही हो मानवता? कसैले कसैलाई यसरी कुटपिट गर्न पाइन्छ? यसलाई कानुन बमोजिम हदैसम्मको कारबाही होस।’

तीनदिन अघि एसक्यु सोलसेभन नामको फेसबुक पेजबाट एक व्यक्तिले सुरक्षा गार्डलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भयो। माथिको क्याप्सनसहित उक्त घटना मलेसियामा भएको भिडियोमा उल्लेख गरिएको थियो।

एकदमै अमानवीय निर्दयी तरिकाले ती सुरक्षा गार्ड कुटिएका छन। लगातार रिसले आगो जस्तै भएका एक व्यक्तिले सुरक्षा गार्डमाथि थप्पड र लाठ्ठीले बर्साईरहेका छन। सुरक्षागार्ड भने चुपचाप चोट लागेका ठाउँ मुसार्दै चोट सहेर बसेका छन।

उक्त अमानवीय भिडियो सार्वजनिक भएसँगै मानिसहरुले ती कुट्ने व्यक्तिलाई कारवाही हुनुपर्ने भन्दै भिडियो सेयर गरिरहेका छन। उक्त पेजमा मात्रै २८ हजारबढी भिडियो सेयर भएको छ भने ४५ हजार व्यक्तिले प्रतिक्रिया जनाएका छन। अधिकांशको माग अमानवीय तरिकाले कुट्ने व्यक्तिमाथि कारवाही होस् भन्ने नै छ।

भिडियो भाइरल भएसँगै ती व्यक्तिहरु को हुन् भनेर खोजी समेत सुरु भएको छ? मलेसियामा पनि ठूलो संख्यामा नेपालीहरु सुरक्षा गार्डका रुपमा काम गर्ने भएकाले के ती नेपाली त हैनन? भन्ने प्रश्न उब्जिएको छ।

उक्त भिडियो सार्वजनिक भएसँगै मलेसियास्थित नेपाली राजदूतावासले पनि नेपाली हुनसक्ने अनुमानमा स्थानीय प्रहरीलाई त्यस घटनाको सत्यतथ्य जाँचबुझ गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन अनुरोध गरेको छ।

मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको ...

Posted by Embassy of Nepal, Malaysia on Thursday, July 30, 2020

 दूतावासले फेसबुक पेजमा लेखेको छ, ‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक सञ्जालमा आएको भिडियो सम्बन्धमा नेपाली दूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनाको थप अनुसन्धानका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ।’

नेपाली दूतावासले शनिबार आयोजना गरेको नियमित फेसबुक लाइभमा पनि मलेसियामा सुरक्षा गार्डका रुपमा काम गर्ने अधिकांश नेपालीहरु रहेकाले यस घटनालाई एकदमै गम्भीर रुपमा लिएको बताएको छ।

फेसबुक लाइभमा दूतावासका कर्मचारीले भनेका छन, ‘सुरक्षा गार्डलाई एक जनाले पिटिरहेको भिडियोका बारेमा हामी जानकारछौं। मलेसियामा धेरै जसो सुरक्षा गार्ड नेपाली श्रमिक नै भएकाले हामी धेरै अलर्ट भएका छौं। प्रहरीमा रिपोर्ट भइसकेको छ। हामी प्रहरी सम्पर्कमै छौं।’

यद्यपी ती अधिकारीले भिडियोमा भएको व्यक्तिको परिचय, कम्पनी र स्थान अझैपनि पूर्ण रुपमा पुष्टि नभएको बताए। उनले यदि कसैसँग पक्का सुचना छ भने दूतावासलाई जानकारी गराउन अनुरोध गरे।

उक्त घटना सार्वजनिक भएपछि मलेसियामा सुरक्षागार्डको हकहितमा काम गर्ने संस्था ‘सेक्युरिटी इन्डष्ट्री एसोसियसन अफ मलेसिया’ले प्रहरीमा जाहेरी दर्ता गरेको छ।

उक्त संस्थाका अध्यक्ष दातुक सेरी राम्ली युसुफले स्थानीय सञ्चारमाध्यमलाई आफूहरुले दोषीलाई पक्रन र कारवाहीको दायरामा ल्याउन प्रहरीको सहयोग गर्ने जनाएका छन।

उनले कुट्ने व्यक्ति ती सुरक्षा गार्डप्रति निर्दयितासाथ प्रस्तुत भएको बताएका छन।

प्रहरीमा उजुरी परेसँगै क्वालालम्पुरको वाग्सा मजु भन्ने स्थानमा भएको उक्त घटना भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

उक्त स्थानका प्रहरी प्रमुख सुपरिटेन्डेन्ट राजाव अहमद स्माइलले अनुसन्धानका क्रममा उक्त घटना कार पार्किङमा भएको बताएका छन।

‘घटनामा कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको र सुरक्षा गार्ड नेपाली नागरिक भएको विश्वास गरिएको छ,’ उनले स्थानीय सञ्चारमाध्यमले भनेका छन, ‘हामीले अनुसन्धान सुरु गरेका छौं। उक्त घटनासँग सम्बन्धित या कसैलाई घटनाबारे जानकारी छ भने हामीलाई सहयोग गर्न सबैलाई अनुरोध गर्दैछौं।’

प्रहरी अधिकारी राजावले उक्त घटना अमानवीय र अस्वीकार्य भएको बताएका छन।

मलेसियामा सुरक्षा गार्डका रुपमा काम गर्ने अधिकांश नेपालीहरु रहेपनि ती व्यक्तिको परिचय नखुलेका कारण नेपाली नै हुन भन्ने अझै पुष्टि भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .