युक्रेनको समर्थनमा आफ्नो वाइफाईको नाम राखेका कारण रुसको राजधानी मस्कोस्थित एक अदालतले त्यहाँका एक विद्यार्थीलाई १० दिनको जेल सजाय सुनाएको छ।
बीबीसीका अनुसार मस्को स्टेट युनिभर्सिटीका यी विद्यार्थीले आफ्नो वाइफाई नेटवर्कको नाम 'स्लाभा युक्रेन!' (युक्रेनको जय!) राखेका थिए।
जसका कारण बिहीबार मस्कोको एक अदालतले उनलाई ‘चरमपन्थी संगठनको प्रतीक’ देखाएकोमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
करिब दुई वर्षअघि रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि रुसका हजाराैँ मानिसलाई आक्रमणको आलोचना गरेको वा युक्रेनलाई समर्थन गरेको आरोमा जेल वा जरिवानाको सजाय सुनाइएको छ।
अधिकारीहरूलाई नेटवर्कको नाम बताएपछि एक प्रहरी अधिकारीले बुधबार बिहान मस्कोमा ती विद्यार्थीलाई पक्राउ गरेका थिए।
अदालतका कागजातहरूका अनुसार अधिकारीहरूले विश्वविद्यालयको छात्रावासमा उनको कोठाको निरीक्षण गरे र उनको व्यक्तिगत कम्प्युटर र वाइफाई राउटर जफत गरे।
युक्रेनी समर्थकबीच 'स्लाभा युक्रेन!' नारा निकै चर्चित छ। यो नारा रुसी आक्रमण विरुद्ध जुलुस मा अक्सर सुनिन्छ।
Shares
प्रतिक्रिया