मन्त्रिमण्डल पुनर्गठन भएपछि बिहीबार निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको मन्त्रालयमा विदाई कार्यक्रम थियो। मन्त्रालयका कर्मचारी र पत्रकारहरुले ठूलो हल भरिभराउ थियो।
झन्डै २० मिनेट सम्बोधन गरेर मन्त्री विष्ट सबै कर्मचारीसँग हात मिलाउँदै बाहिर निस्किए। मन्त्रालयबाट हिँडेरै उनी सिंहदरबार गेटअघि आए। त्यहाँबाट ट्याक्सीमा चढे। उनलाई पछ्याइरहेका हामी उनीभन्दा अघि नै पुल्चोकस्थित हिमालय होटलअगाडि पुगिसकेका थियौँ।
‘त्यहीँ बस्नुस् हामी आउँदै छौँ,’ उनले फोनमा भने। दुई मिनेटपछि विष्ट बा२ज ५६७६ नम्बरको ट्याक्सीबाट ओर्लिए। ट्याक्सी चालकले एउटा फोटो खिच्ने प्रस्ताव राखे।
‘योभन्दा पहिला पनि सिंहदरबारबाट मैले नै तपाईंलाई ट्याक्सीमा ल्याएको थिएँ,’ ट्याक्सी चालक राजकुमार श्रेष्ठले विष्टलाई भने। संयोग कस्तो परेछ भने २०६८ मा सरकार परिवर्तन भएपछि ऊर्जा मन्त्रालयबाट बाहिरिँदा उनले नै विष्टलाई ट्याक्सी चढाएका रहेछन्।
श्रेष्ठको कुरा सुनेपछि विष्टले खुसी हुँदै उनीसँग हात मिलाए र आफूजस्ता श्रमिकको पक्षमा काम गरेकोमा विष्टलाई धन्यवाद दिए। ‘तपाईंमाथि अन्याय भयो,’ दोलखा घर बताउने ती ट्याक्सी चालक भन्दै थिए। विष्टले पाँच मिनेट उनका कुरा सुने। हात मिलाए अनि उनीसँग विदा भए।
त्यहाँबाट झन्डै दुई मिनेट हिँडेर हामी एउटा रेस्टुरेन्टमा पुग्यौँ। उनले सरकारबाट हटाइएकोमा सीधै असन्तुष्टि त व्यक्त गरेनन् तर, जनहितमा काम गर्दा आफ्नो पद गएको प्रस्ट संकेत भने गरे। उनीसँगको कुराकानी:
मन्त्रीका रुपमा २० महिनाको कामलाई कसरी स्वमूल्यांकन गर्नुहुन्छ?
मैले आफ्नो बारेमा आफैँ मूल्यांकन गर्ने होइन। हाम्रो कामलाई भविष्यमा जनताले मुल्यांकन गर्ने हो। तर, अस्तव्यस्त भएको श्रम क्षेत्रमा नयाँ थालनी गर्यौँ। जसले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा तरंग ल्यायो र आम जनतामा एउटा नयाँ आशा पलायो।
तपाईंको बर्खास्तीसँगै सामाजिक सञ्जालमा तपाईंप्रति सहानुभूति देखियो। मानिसहरुले तपाईंलाई हटाउनु गलत हो भने। यसलाई कसरी लिनुभएको छ?
जनताको हितलाई, श्रमिकको हितलाई शीरमा राखेर काम गर्दा सबैको माया पाइने रहेछ भन्ने अनुभूति भयो। मैले मन्त्री भएर प्राप्त गरेको सम्पत्ति पनि यही होजस्तो लाग्छ। पद त के थियो र एकदिन बाहिरिन परिहाल्थ्यो। कतिपयलाई मन्त्रालयबाट बाहिर निस्कँदा सरापेको देख्छु। तर, मैले भने दुई पटक नै सकारात्मक प्रतिक्रिया पाएँ।
तपाईंको कुन खुबीका कारण मानिसले तपाईंको प्रशंसा गरेजस्तो लाग्छ?
जहाँ जस्तो जिम्मेवारी पाइन्छ त्यो क्षेत्रका सम्भावनाहरुलाई अधिकतम उपयोग गरेर काम गर्ने सोच म राख्ने गर्छु। त्यसैअनुसार योजना पनि बन्दै जान्छ। कसरी आफ्नो जिम्मेवारीलाई जनताको हितमा प्रयोग गरौँ भन्ने चाहना राख्ने हो भने त्यसलाई स्वीकार्ने, सद्भाव राख्ने साथीहरुको संख्या कम छैन। मुख्य कुरा त सुधारका लागि आफैँ तयार हुनुपर्यो। सुधार अलि जोखिमपूर्ण हुन्छ, जनहितलाई ध्यानमा राखेर चुनौतीको सामना गर्नुपर्छ र यसो गर्दा कहिलेकाहीँ पद पनि उड्न सक्छ। यो सबै कुरा बुझेर पनि यसका लागि तयार हुनु नै सबैभन्दा ठूलो चुनौती हो र मैले त्यसको सामना गरेँ भन्ने मलाई लाग्छ।
बुधबार सामाजिक सञ्जालमा आफूलाई ज्यामी माहुरीसँग तुलना गर्नुभयो। यसको आशय के थियो?
एउटा ज्यामी माहुरीले मह थुपार्न जसरी मेहनत गर्छ, काम गर्छ, त्यही प्रकारले मैले पनि काम गरेँ। मैले अरुलाई आदेश दिनेभन्दा पनि आफैँले सुधारको प्रयास गरेँ र इमानका साथ कामद्वारा परिवर्तन र सुधार सम्भव छ भनेर पुष्टि गर्ने प्रयत्न गरेँ। यही भन्न खोजेको हो। मन्त्रालयको क्षेत्राधिकारभित्र रहेर जनताको हितमा रातदिन काम गरेँ। मैले कामबाहेक अन्य कुरा बुझ्ने प्रयाससमेत गरिनँँ। मैले निरन्तर इमानका साथ मेहनतका साथ जनताको पक्षमा काम गरेँ।
वैदेशिक रोजागरीमा शून्य लागतको नीति अवलम्बन गर्नुभयो। तर, म्यानपावर व्यवसायीले १० हजारको रसिद दिएर लाखौँ रकम असुल गरिरहेका छन्। आफैँले घोषणा गरेका कार्यक्रम कार्यान्वयनको पाटोमा चुकेको जस्तो लाग्दैन?
कार्यान्वयन त बल्ल हुन थालेको थियो। फ्री भिसा, फ्री टिकट केवल एक पक्षीय थियो। अहिलेको शून्य लागतको नीति भनेको दुई देशबीचको समझदारीमार्फत गरिएको व्यवस्था थियो। हामीले मलेसियासँग पनि निश्चित कार्यान्वयनको मापदण्ड मनाएर अगाडि बढ्यौँ। र, युएई, मरिसस, ओमान, जापानलगायतका देशसँग पनि यो प्रक्रिया अघि बढायौँ। सम्झौतालाई व्यवहारमा लागू गर्नेगरी धेरै व्यवस्था गरेका छौँ। लागू हुनासाथ नेपाली श्रमिक शून्य लागतमा जाने प्रक्रिया सुरु हुन्छ। धेरै काम अगाडि बढिसकेको छ। यसका लागि सरकारले तीव्र अनुगमन गर्न जरुरी छ। हामीले कागजी प्रक्रिया, संरचना, प्रणालीको व्यवस्था गरेका छौँ। कार्यान्वयनको जिम्मेवारी अब आउने साथीको काँधमा परेको छ।
तपाईंले एकतर्फी रुपमा हस्तक्षेपकारी भूमिका खेलेर मलेसियामा रोजगारीको सिन्डिकेट तोडेको घोषणा गर्नुभयो। यसका लागि कुटनीतिक पहल, सीप प्रदर्शन र प्रतिस्पर्धामा ध्यान दिन चुकेको भन्ने आरोप पनि लाग्यो नि?
हामीले कडा कदम चालेकै कारणले नेपाल र मलेसियाबीचमा नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर समझदारी सम्पन्न गर्न सक्छौँ। कुटनीतिक पहल त विगतमा पनि भएका रहेछन् तर, ती पहल सफल भएनन्। त्यसैले हामीले कारबाही र अडानका आधारमा प्रक्रिया अगाडि बढायौँ। मलेसिया सरकारलाई समझदारीमा आउन बाध्य बनायौँ। यसले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एउटा नयाँ आयाम र नयाँ सन्देश सिर्जना गर्यो। यो सिंगो देशकै लागि सकारात्मक कुरा हो।
श्रम मन्त्रालयमा माफिया र दलालको अचाक्ली चलखेल हुन्छ, मन्त्रीलाई प्रभावित पारिन्छ भन्ने सुनिन्छ। मन्त्री छँदा तपाईंले कस्ता चुनौती सामना गर्नुभयो?
लामो समयदेखि वैदेशिक रोजगारीमा जाने लाखौँ मानिसहरुलाई ठग्ने परम्परा बसेको छ। गरिब युवाहरु शोषित हुन्छन्। त्यसलाई सुधार गरेर गरिबहरुलाई न्याय दिने कुरा अवश्य पनि चुनौतीपूर्ण छ। हाम्रो देशमा मात्र होइन, संसारको जुनसुकै ठाउँमा पनि जे छ त्यसमा रमायो भने वा यथास्थितिलाई आत्मसात गर्यो भने खासै जोखिम मोल्नु पर्दैन। जब तपाईं जनताको जीवनसँग जोडिएर सुधारका पक्षमा काम गर्नुहुन्छ तब सुधारलाई रोक्न चाहने शक्तिसँग अन्तरविरोध हुन्छ। त्यो भनेको परिवर्तन नचाहने तत्व हो।
त्यही तत्वको प्रभावमा परेर तपाईंलाई मन्त्रीबाट हटाइयो भन्न खोज्नुभएको हो?
ठूलो पार्टीमा धेरै योग्य साथीहरु हुनुहुन्छ, उहाँहरुले पनि अवसर पाउनुपर्छ भन्ने मनसाय होला पार्टीभित्र। मन्त्रिमण्डल पुनर्गठन गर्दा कोही न कोही बाहिरिनुपर्छ र म बाहिरिनु स्वभाविक नै पनि होला। म अहिले त्यतातिर प्रवेश गर्न चाहन्नँ। तर, म यति एकिनका साथ भन्छु कि नेपालमा मात्र नभएर दुनियाँका जुनसुकै ठाउँमा जनताको हितमा केन्द्रित सुधारका प्रक्रिया चाल्नु निकै चुनौतीपूर्ण हुन्छ। सुधार सुरु गर्ने व्यक्ति समाप्त भएका धेरै उदाहरण छन्। यो नौलो कुरा होइन।
तपाईंको स्थानमा आउने नयाँ मन्त्रीलाई के सुझाव दिन चाहनुहुन्छ?
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गरी यहीँ बाँच्ने अवसर प्रदान गर्नु आवश्यक छ। सामाजिक सुरक्षा कार्यक्रममार्फत लाखौँ जनतालाई जोखिमबाट माथि उठाउनेगरी सुरक्षाको दायरामा ल्याउनुपर्ने छ। फाटेका चप्पल र जुत्ता लगाएका युवाहरुमाथिको ठगीलाई ध्यानमा राखेर तिनलाई न्याया दिनुपर्छ। वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनुपर्ने छ। हरेक विकृति र विसंगतिलाई गुण र दोषका आधारमा समाधान खोज्नेगरी काम गर्नुपर्ने छ। उहाँलाई मेरो साथ र सहयोग सधैँ रहनेछ।
Shares
प्रतिक्रिया