ad ad

अन्तर्वार्ता


विदेशबाट आएकालाई अब खोजीखोजी परीक्षण गर्नुपर्छः डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

विदेशबाट आएकालाई अब खोजीखोजी परीक्षण गर्नुपर्छः डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

सागर न्यौपाने
चैत १२, २०७६ बुधबार १३:३४,

सरकारले मंगलबारदेखि पूरै देश लक डाउन गरेको छ। तथापि, कोरोना संक्रमण भएको तेस्रो व्यक्ति फेला परेपछि थप त्रास बढेको छ।

संक्रमितहरुकोको उपचार, नेपालमा कोरोना फैलिने सम्भावना, आदिबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनसँगको कुराकानीः

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने सम्भावना कत्तिको छ?
अहिलेसम्म यो आयातीत अवस्थामा मात्रै देखिएको छ। हालसम्म विदेशबाट आएका मात्र संक्रमित देखिएका छन्। यदि उनीहरुबाट संक्रमण नफैलिएको भए खासै डराउनुपर्ने अवस्था छैन। बाहिरबाट आएका कति संक्रमित छन्, तिनले कतिलाई सारे भन्नेबारे खोजी गर्नुपर्छ।

सरकारले अझ अगाडि नै लक डाउन गरेर अन्तर्राष्ट्रिय उडान रोकेको भए संक्रमित देखिन सम्भावना कम हुन्थ्यो?
अलि अगाडि गरेको भए केही व्यक्तिहरु आउने अवस्था देखिँदैन थियो भन्ने कुरा सत्य हो। तर, सरकारले समयमै लक डाउन गरेको छ। यसले संक्रमित रहेछन् भनेपनि उनीहरुलाई पहिचान गर्न सहज बनाएको छ।

नेपाल धेरै मानिस वैदेशिक रोजगारमा जाने मुलुकमा पर्छ। विदेश गएर आएकाहरुको परीक्षण गर्न भने अब ढिलाई गर्नु हुँदैन। अहिलेसम्म तीनवटा केस कोरोना पोजिटिभ देखिएको छ त्यसमा एउटा केस निको भएर घर पुगिसकेको अवस्था छ। दुईवटा केसको उपचार जारी छ।

कोरोना पोजिटिभ देखिएका तेस्रो व्यक्ति कसरी अस्पताल आइपुगेका रहेछन्?
उनी वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन्। उनी धादिङका हुन् र त्यहीँबाट ल्याइएको हो। त्यहाँको अस्पतालले उपचार गर्न नसकेपछि यता रेफर गरेको रहेछ। उनी १० गते अस्पतालको आइसोलेसनमा राखिएका थिए। हिजै रिपोर्ट आएको हो, हामीले पुनः परीक्षण गरेर कन्फर्म गरेका हौं।

तेस्रो व्यक्तिमा पोजिटिभ रिपोर्ट आएको हामीले समेत थाहा पाएका थिएनौं। हामी त उनको उपचारमा थियौं। तर, हामीलाई थाहा नदिई बाहिर सार्वजनिक गरियो। जसलाई मन लाग्यो, उसैले बाहिर सार्वजनिक गरिदिने हो भने हामी किन चाहियो? संवेदनशील कुरामा संवेदनशील नै बन्नुपर्छ। यहाँ आज सबै डाक्टरहरु असन्तुष्ट थिए। त्यसरी पब्लिक रुपमा सबैकुरा गए भने त कसरी काम गर्न सकिन्छ र?
उनको अहिले कस्तो अवस्था छ ?
उपचार भइरहेको छ। उनलाई सुरुमै कोरोनाको लक्षण देखिएको रहेछ, खोकी लाग्ने र ज्वरो आउने। त्यसपछि उनी धादिङकै घर नजिकैको अस्पतालमा पुगेको हुनुपर्छ। त्यहाँबाट रेफर गरेर आएको केस हो। अहिले उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ।

खासगरी कोरोनाको ८० प्रतिशत बिरामी निको हुन्छन्, केही जटिल बाहेक अरुलाई खासै समस्या हुँदैन। सुरुमै लक्षण देखिने केस अलि जटिल खालकै हुन्छ किनभने अन्य रोग छ भने त्यसले असर गर्छ। अहिले उनलाई सावधानीपूर्वक उपचार गरिरहेका छौं।

ती व्यक्तिमा देखिएको केस यसअघि दुई जनामा देखिएको भन्दा अलि फरक हो भन्न खोज्नुभएको?
पहिलो व्यक्ति चीनबाट आएका थिए, उनी निको भइसके। उनको खासै असर गर्ने खालको देखिएन। फ्रान्सबाट आएकी युवतीको पनि लक्षण नै देखिएको थिएन। उनी आफैँ सचेत भएर चेक गराउन आएकी हुन्। चेक गराउँदा कोरोना पोजिटिभ देखियो उनी सामान्य अवस्थामा उपचारमा छिन्।

तर, यो तेस्रो केस चाहिँ अलि फरक खालको छ। यो सुरुमै लक्षण देखिएको केस हो। यसलाई हामीले कोरोनाको परीक्षण अन्तर्गत राख्दा १५ प्रतिशतको रुपमा राखेका छौैं। त्यो भनेको कोरोना लागेको ८० प्रतिशत तत्कालै निको हुन्छन्, उनीहरु १४ दिन आइसोलेसनमा मात्रै बसेपनि पुग्छ, सामान्य उपचार गर्दा निको हुन्छ।

अर्काे १५ प्रतिशतको राम्रोसँग उपचार गर्नुपर्छ। उपचार गर्दा सावधानी पनि अपनाउनुपर्छ। बाँकी ५ प्रतिशतको केस विश्वमा तपाईं हामीले देखेका छौं, जति प्रयत्न गर्दा पनि उपाय नै नलाग्ने खालको पनि हुन्छ।

यी व्यक्तिबाट अरु कसैलाई संक्रमण हुने सम्भावना कति छ?
उनको मुभमेन्टको कुरा हो। कहाँ कहाँ गए? धादिङ जाँदा केमा गए? बसमा गएका हुन् भने त्यो बसमा यात्रा गर्नेहरुले केही नभएपनि परीक्षण गराउँदा राम्रो हुन्छ। अर्काे, उनी घरमा जाँदा परिवारबाहेक अन्यलाई भेटेका छन् भने उहाँहरुले पनि स्वास्थ्य परीक्षण गराउँदा हुन्छ। मैले अघि पनि भने कोरोना पोजिटिभ देखिँदैमा डराउनु पर्दैन। तर, परीक्षण गराउन हिच्किचाउनु भएन।

यसरी फैलँदो क्रम हेर्दा त डराउनुपर्ने अवस्था देखिन्छ नि, हैन?
डराउने र सचेत हुने फरक कुरा हो। हामी सावधान त हुनुपर्‍यो। मैले के भन्नखोजेको हो भने, यदि कुनै व्यक्तिमा कोरोनाको पोजिटिभ रिपोर्ट आएको भए, उसको सम्पर्कमा पुगेका व्यक्तिहरु विशेष चनाखो हुनुपर्‍यो। जचाँउनुपर्‍यो। सेल्फ क्वारेन्टाइनमा बस्नुपर्‍यो।

डर त हामीले मान्नुपर्ने हो नि। कोरोनाको भाइरस भएका व्यक्तिहरुको उपचार गर्नुपर्छ। हाम्रा परिवार कति आत्तिएका होलान्। तर, हामी डराएर हुँदैन, काम गर्नुपर्छ। सावधानी अपनाएर काम गर्ने हो। हाम्रा परिवारलाई कन्भिन्स गर्न गाह्रो हुँदा हुँदैपनि कार्यक्षेत्रमा हामी छौं। यसको मतलब के हो भने अत्तालिने भन्दा पनि त्यसलाई समाधान गर्नतिर जाने हो।

अस्पतालमा अहिले शंकास्पद बिरामी कति छन्?
आइसोलेसन बेड ५ वटा सबै भरिएको छ। बिरामी आउने क्रम बढ्न थालेको छ। अहिले त सामान्य ज्वरो आयो, हाच्छिउँ आयो भनेपनि अन्य अस्पतालले उपचार नगरेर यहाँ पठाइदिन थालेका छन्। यसले गर्दा अब थप चाप बढ्ने देखिन्छ।

भाइरस रोकथामका लागि अहिलेसम्म सरकारले गरेको कामहरु पर्याप्त छन्?
सरकारले अब दायरा बढाउनुपर्ने हुन्छ। लकडाउन भएको छ, यस्तो अवस्थामा सबै निकाय परिचालन गरेर विदेशबाट आएकाहरुको खोजीखोजी लगत राख्न ढिलाइ गर्नु हुँदैन। हाम्रो देशमा यो रुघाखोकी लाग्ने सिजन नै हो। तर, विदेशबाट फर्केकाहरुको हकमा अलि ध्यान दिनुपर्ने देखियो किनभने नेपालमा कोरोना विदेशमा बस्नेहरुमा मात्रै देखिएको छ। यसलाई अहिले नै नियन्त्रण गर्न सकिन्छ।

यसको संक्रमण दर कस्तो देखिन्छ?
त्यो त देश र त्यहाँको वातावरण अनुसार फरकफरक देखिन्छ। नेपालमा त्यसलाई लिएर अहिले नै विश्लेषण गर्ने बेला भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .