ad ad

अन्तर्वार्ता


छिमेकी देशले कोरोना खोप लगाउँदा हामीले हेरेर बस्नु पर्नेछैन : स्वास्थ्यमन्त्री त्रिपाठी (अन्तर्वार्ता)

छिमेकी देशले कोरोना खोप लगाउँदा हामीले हेरेर बस्नु पर्नेछैन : स्वास्थ्यमन्त्री त्रिपाठी (अन्तर्वार्ता)

उजिर कार्की
पुस १४, २०७७ मंगलबार १२:६,

गत शुक्रबार अर्थात् यही पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेपछि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्न हृदयेश त्रिपाठी आइपुगेका छन्। यसअघि उनी सामान्य प्रशासनमन्त्री थिए। कोरोना महामारीका बीच स्वास्थ्य मन्त्रालयमा आएका मन्त्री त्रिपाठीसामु कोरोना खोप नेपाल ल्याउने ठूलै चुनौती छ। विश्वका केही देशले कोरोनाविरुद्धको खोप लगाउन थालिसकेको अवस्थामा नेपाली नागरिक त्यसको प्रतीक्षामा छन्। तर हालसम्म नेपालले खोप कहाँबाट कसरी ल्याउने भन्ने नै टुंगो लागेको छैन। छिमेकी देशहरु भारत र चीनले खोप उत्पादन नै गरिरहेका बेला नेपाली जनताले भने खोप समयमै नपाउने हुन् कि भन्ने चिन्ता छ। आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री त्रिपाठीसँग यिनै विषयमा नेपालखबरले गरेकाे वार्ताः

संकटको बेला स्वास्थ्य मन्त्रालय सम्हाल्न आइपुग्नुभएको छ। यो संकटबाट नेपाली जनतालाई पार लाउने योजना के–के छन्?
यो संकटकै बेला प्रधानमन्त्रीले मलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभयो। त्यसका लागि म आभारी छु। विश्व नै अहिले कोभिड १९ बाट आक्रान्त भएको सत्य हो। म निबन्ध लेख्नेभन्दा पनि प्रबन्धमा विश्वास गर्ने मान्छे हुँ। मेरो पहिलो प्राथमिकता भनेकै खोप नेपालमा ल्याउने हो। १४ वर्षमुनिका जनतालाई खोपको आवश्यकता छैन। केही रोगका बिरामीलाई पनि खोपले हानि गर्ने भएकाले लगाउन मिल्दैन भनिएको छ। जसलाई खोप आवश्यक पर्छ, उनीहरुलाई निःशुल्क खोप दिलाउने कामलाई प्राथमिकतामा राखेको छु। ढुक्क भए हुन्छ, पारदर्शी ढंगले खोप ल्याइनेछ र निःशुल्क खोप लगाउन जे जे गर्नुपर्ने हो, तिनै काम मेरा प्राथमिकताका कुरा हुन्।

त्यस्तै, अहिले स्वास्थ्यकर्मीहरुको समायोजन बिग्रिएको छ। कति कर्मचारी समायोजनका शिकार भएका पनि छन्। त्यो समायोजनलाई मिलान गर्नु छ। किनभने योभन्दा अगाडि मसँग जोडिएको मन्त्रालय (सामान्य प्रशासन)सँग जोडिएको विषय पनि हो यो। त्यसकारण यो मेरो दोस्रो प्राथमिकता हो। तेस्रो प्राथमिकता प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्नु हो। नेपाल सरकारले दक्षिण एसियामै नभएको यो कार्यक्रम ल्याएको छ। यसअनुसार हरेक पालिकामा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्नुपर्नेछ। त्यो पनि अगाडि बढिसकेको छ। छुटेका ठाउँमा पनि प्रक्रिया अगाडि बढाउन फाइल सदर गरिसकेको छु। निर्माणका लागि बजेट पठाइसकिएको छ। स्थानीय तहहरुले नै निर्माण गर्ने यी अस्पतालका भौतिक पूर्वाधार तयार भइसकेपछि आवश्यक पर्ने जनशक्ति हामी समयमै पठाउनेछौँ।

यसबाहेक अहिले मूल समस्या भनेको कोभिड १९ नै हो। यसलाई नियन्त्रणका लागि अझै प्रभावकारी रुपमा काम गर्छौँ। किनकि नेपाली जनताको स्वास्थ्य र जीवन रक्षा गर्ने हाम्रो पहिलो प्राथमिकता हो।

Hridayesh tripati MAIN IMAGE

अहिले सबैको चासो कोरोनाविरुद्धको खोपमा छ, नेपालमा यो खोप कहिले कहाँबाट ल्याउने योजना बनाउनुभएको छ?
योभन्दा पहिलेका महामारी विश्वका कुनै निश्चित ठाउँमा मात्रै देखिन्थ्यो। तर अहिले यसले विश्वलाई नै प्रभाव पारेको छ। विश्वका शक्तिशाली देशहरु कोरोनाविरुद्धको खोप विकास गर्न केन्द्रित छन्। धेरै ठाउँमा परीक्षण भइरहेको छ। म के विश्वास दिलाउन चाहन्छु भने छिमेकीहरुसँगै खोप लगाउने गरी युद्धस्तरमा तयारी गरिरहेका छौँ। छिमेकीलाई खोप लगाइरहँदा हामीले हेरेर बस्नुपर्ने अवस्था आउँदैन।

जहाँबाट सजिलो हुन्छ त्यहीँबाट ल्याउनुहुन्छ कि अध्ययन परीक्षणपछि मात्रै ल्याउनुहुन्छ?
कोरोनाको खोपमा हामी खुल्ला छौँ। पक्कै पनि कुन खोप कति प्रभावकारी छ, त्यो बुझ्छौँ। सर्वप्रथम हाम्रो भूगोल, जलवायु र जनतालाई कति मिल्दोजुल्दो हुन्छ, त्यो अध्ययन गर्नुपर्छ। खोप नयाँ भएकाले अझै पनि अध्ययनकै क्रममा छ। खोप लगाइसकेपछि यसका अन्य असरलाई पनि हेर्नुपर्ने हुन्छ। खोपको अवधि कति हो, एक डोज लगाइसकेपछि एक वर्ष हुन्छ कि तीन वर्षसम्म हुन्छ कि कति वर्षसम्म हुन्छ, त्यसलाई पनि हेर्नुपर्ने हुन्छ। यी सबै कुराको लागि मन्त्रालयल प्राविधिक कमिटीहरु बनाएको छ। ती कमिटीहरुले छिट्टै प्रतिवेदन दिन्छन्। अहिले नै यही देशबाट ल्याइन्छ भन्ने अवस्था छैन।

सोमबार मात्रै पनि रसियाका राजदूतसँग भेट भयो। खोपबारे उहाँले पनि चासो राख्नुभयो। रसियामा बनेको खोप १०८ देशले माग गरेको र नेपाललाई छैटौं प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभएको छ। रसियन सरकार पनि हामीलाई खोप दिन इच्छुक छ। अन्य देशमा पनि हामीले कूटनीतिक नोटहरु पठाएका छौँ। कतिपय देशबाट जवाफ आइरहेको छ, कतिपयबाट आउन बाँकी छ। तुलनात्मक रुपमा जहाँको खोप ल्याउन हामीलाई सहज हुन्छ, सस्तो पर्छ, त्यहीअनुसार पारदर्शी ढंगबाट ल्याउँछौँ।

कोरोनाकै डरले लामो समय लकडाउन नै गरेर जनतालाई घरभित्र थुनियो तर अहिले सडकमा भीड जम्न थालेका छन्, यसरी निस्किएको भीडलाई रोक्ने उपाय के छ?
हामीले पहिलेदेखि नै सतर्क रहन भन्दै आएका छौँ। म राजनीतिक पूर्वाग्रह राख्दिनँ तर सबैले अहिले आफ्नो विवेकले पनि हेर्नुपर्छ। स्वास्थ्यलाई पहिलो प्राथमिकता सबै राजनीतिक दलहरुले दिन्छन् भन्ने मेरो विश्वास छ। गैरजिम्मेवार र उत्ताउलोपन देखाएर राजनीतिक अभीष्ट पूरा गर्न देशलाई महामारीमै धकेल्ने काम कतैबाट पनि हुनुहुन्न।

बुधबार म यसअगाडिका स्वास्थ्यमन्त्रीहरुसँग सल्लाह लिँदै छु। भूपू स्वास्थ्यमन्त्रीहरु भानुभक्त ढकाल, उपेन्द्र यादव, खगराज अधिकारी, गिरिराजमणि पोख्रेललाई आमन्त्रण गरेर सल्लाह सुझाव लिन्छु। महामारी नियन्त्रणलाई प्रभावकारी बनाउने काममा मन्त्रालयले यसबारे छलफल पनि गरिरहेको छ। राजनीतिक विषयमा म अहिले बोल्दिन किनकि मेरो प्राथमिकता नेपाली जनताको स्वास्थ्य हो।

Hridayesh tripati 3

फरक–फरक मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ। हिजोका ती मन्त्रालयमा त्यो समयभन्दा आजको परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदा कस्तो लागेको छ?
हो, आजको परिस्थितिमा अलि बढी जिम्मेवारी महसुस गरिरहेको छु। किनभने स्वास्थ्य संकट जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। योभन्दा अगाडि म विकासे मन्त्रालयमा थिएँ। तत्कालै सडक बनेन भने जीवन नै खतरामा पर्ने स्थिति थिएन, विकास प्रभावित हुन्थ्यो होला। संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयमा हुँदाखेरि त्यसको कामको प्रकृति नै अलग भएको हुनाले त्यो जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको थिएन। यो मन्त्रालयमा आएपछि भने अलि बढी नै संवेदनशील छु। हाम्रो काम कारबाहीले गर्दा नेपाली जनताको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष र तत्काल असर गर्ने कुरा छ। त्यही भएर अहिले बढी जिम्मेवारी बोध भएको छ र चिन्तित पनि बनाएको छ।

मैले आज पनि डाक्टरहरुसँग सुझाव लिएँ। मैले सबैलाई भनिसकेको छु, ‘यतिबेला हामीसँग केही चित्त बुझाइ छैन, मनमुटाव छ एकअर्का निकायबीच भने त्यसलाई हटाउनुहोस्।’ किनभने जनताको स्वास्थ्य इतिहासकै कालखण्डमा अहिले सबैभन्दा जोखिममा छ। हामीले धेरै जीवन गुमाइसक्यौँ। धेरैलाई यसले प्रभावित पनि गरिसक्यो। यहाँ रहँदा धेरै चिन्ता र जिम्मेवारी लिनुपर्ने अवस्था छ र त्यो मैले बोध गरेको छु।

महामारी नै नहुँदा पनि हाम्रो स्वास्थ्य क्षेत्र व्यवस्थित थिएन। सामान्य अवस्थामा पनि बढी नै लापरबाही हुने कुरा प्रायःजसो आइरहन्छन्। त्यतातिरको सुधार पक्षलाई कसरी हेर्नुभएको छ?
अहिले नै सबै कुरालाई दीर्घकालीन रुपमा समाधान गर्नसक्ने समय मसँग छैन। त्यसका लागि केही समय लाग्नसक्छ। केही कुराहरु हामीले युगान्तकारी गर्न गइरहेका छौँ। त्यसमध्ये प्रत्येक पालिकामा अस्पताल बनाउने काम पनि एक हो। यो काम अगाडि बढिसकेको छ, रकमको अभाव छैन।

शिलान्यास भएर टेण्डर अगाडि बढिसकेकोले यो युगान्तकारी र स्वास्थ्य क्षेत्रमा फड्को मार्ने काममा मेरो विशेष ध्यान छ। अन्य थुप्रै कामहरु छन्, नभएका होइनन् तर ती सबै मैले यही कार्यकालमा पूरा गर्छु भनेर दावा गर्दिन। अहिले भनेको कोभिड १९ बाट नेपाली जनतालाई जोगाउनु र जीवनरक्षा गर्नु नै मुख्य जिम्मेवारी हो। म यसैमा गम्भीरतापूर्वक युद्धस्तरमा लाग्छु। मलाई पूर्ण विश्वास छ, यसमा सफल हुन्छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .