ad ad

कर्णाली


कर्णालीको मुख्यमन्त्रीमा शर्माले दाबी पेस गर्दै, आलोपालोको अडानमा कँडेल

कर्णालीको मुख्यमन्त्रीमा शर्माले दाबी पेस गर्दै, आलोपालोको अडानमा कँडेल

फाइल तस्बिर।


नेपालखबर
पुस २७, २०७९ बुधबार १३:१५, सुर्खेत

प्रदेश प्रमुखको कार्यालयले कर्णाली प्रदेशमा बुधबार (आज) मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने मिति तोकिसकेको छ। सोही मिति अनुसार बुधबार मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गर्ने तयारी भइरहेको हो। 

तर, नेकपा एमाले माओवादीसँग प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल गर्न पाउनु पर्ने अडान राखेको छ। मंगलबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सरकारमा जाने–नजाने, समर्थन गर्ने, नगर्ने विषयको सम्पुर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएपछि उक्त अडान राखेका हुन्।

माओवादी प्रदेशस्तरका एक नेताका अनुसार एमाले–माओवादीबीचको सामान्य छलफलमा यामलाल कँडेलले आलोपालो सरकार बनाउनुपर्ने माग गरेको बताए। 

यता केन्द्रीय समीकरणले पाँच वर्षे नै कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउनुपर्ने निर्णय गरेको छ।

यदि एमालेले आलोपालो सरकार बनाउनुपर्ने धारणा राखेको खण्डमा केन्द्रलाई जानकारी गराएपछि मात्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने माओवादीको तयारी थालेको छ।

प्रदेश प्रमुख तिलक परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन्। 

उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्। कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ। 

४० प्रदेश सभा सदस्यीय सभामा सरकार बनाउन न्यूनतम सिट २१ हो।  माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सांसद रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .