मुगुमा गएको हिमपहिरोमा परी बेपत्ता जुम्लाका ३ जना बुधबार पनि फेला परेनन्। मंगलबार त्यसै फर्किएको उद्धार टोली बेपत्ताहरूको खोजीका लागि बुधबार पुनः घटनास्थल गएको थियो।
तर बुधबार पनि उनीहरु पत्ता नलागेपछि उद्धार टोली त्यसै फर्किएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
मुगुको मुगुम कर्मारोङ गाउँपालिका–२ को च्यार्खु लेकमा यही वैशाख २२ गते दिउँसो गएको हिमपहिरोमा परी जुम्लास्थित पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, सोही ठाउँका ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदर्शन पन्थीले ‘२१ जना सुरक्षाकर्मी घटनास्थलतर्फ गएर खोजी गरेर फर्किनुभयो। सुरक्षाकर्मीसँग गएका दुई जना स्थानीय बिरामी परेर बिहाना नै घरतर्फ फर्किसक्नु भएको छ। हाम्रो सुरक्षाकर्मी साथीहरु पनि बिरामी पर्न थालिसक्नुभयो।’
साथै डिएसपी पन्थीले थपे, ‘हिउँ लगातार परिरहेको छ। १०–१२ फिट हिउँ जमेको छ। अझै एक/दुई दिन सुरक्षाकर्मीले खोज्छन् होला। सायद बेपत्ता भेटिने कुनै आशा छैन।’
Shares
प्रतिक्रिया