बिहीबार बिहान कालिकोटको रास्कोट नगरपालिका–२ मा भएको जिप दुर्घटनामा घाइते भएकी महिलालाई थप उपचारका लागि हेलिकप्टरबाट प्रदेश अस्पताल लगिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी ३० वर्षीया रीताकुमारी शाहीलाई कालागाउँस्थित प्रदेश अस्पताल रेफर गरिएको हो। यसअघि उनलाई स्थानीय गौत अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबराज बमका अनुसार शाहीलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल पुर्याइएको हो।
रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी जिपमा रहेका रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मानबहादुर शाही र उनको श्रीमति ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको छ। सोही ठेगानाकी रीताकुमारी शाही भने गम्भीर घाइते भएकी हुन्।
प्रहरी निरीक्षक बमका अनुसार सेरा बजारबाट कालिकोटको सदरमुकाम मान्मतर्फ जाने तयारीमा रहेको जिप न्युट्रलमा राखेर चालक बाहिर निस्केका बेला दुर्घटना भएको हो।
दुर्घटनापछि जिपका चालक विनोद दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares
प्रतिक्रिया