कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्।
मंगलबार बेलुका कँडेलले प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरेका हुन्। एमाले-माओवादीबीच मन्त्रालयमा भागबन्डाका विषयमा भने अझै सहमति भएको छैन।
प्रदेश प्रमुख परियारले दलहरूलाई बहुमत पुर्याएर सरकार निर्माणका लागि दाबी पेस गर्न मंगलबार साँझ ५:५० बजेसम्मको समय दिएका थिए।
सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।
कँडेललाई एमालेका सभामुखसहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन आवश्यक संख्या २१ हो। गठबन्धनको पक्षमा २४ जना सांसद छन्। कँडेललाई सभामुखबाहेक पनि २३ जनाको समर्थन छ।
तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा नजाने माओवादी नेताहरूको अडान छ। माओवादीले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास गरी ४ वटा महत्त्वपूर्ण मन्त्रालयमा दाबी गरिरहेको छ।
माओवादीका राजकुमार शर्माले चैत २१ मा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
Shares
प्रतिक्रिया