एसइई परीक्षामा फर्जी परीक्षार्थी भेटिएपछि उनीहरु संलग्न यसअघिका सबै विषयको परीक्षा रद्द गरिएको छ। मोरङका विभिन्न तीन केन्द्रमा १ सय ९९ नक्कली परीक्षार्थी परीक्षा दिइसकेको अवस्थामा आज पक्राउ परेका थिए।
पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाइ मोरङले जानकारी गराएको छ।
जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले पक्राउ परेका नक्कली परीक्षार्थीहरूले बिहीबारसम्म दिएका पाँच वटा विषयको परीक्षा रद्द हुने बताए।
बिहीबारसम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा भएको छ।
‘यी पाँच वटै परीक्षा रद्द हुनेछ,’ उनले भने, ‘सबै उत्तर पुस्तिका रद्द हुनेछ। अब सक्कली परीक्षार्थीले पनि परीक्षामा सामेल हुन पाउनेछैनन्।’
सार्वजनिक मावि केराबारी १२७, जनता मावि सुन्दरहरैंचाबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। उनीहरुलाई परीक्षा लेखेको अवस्थामा जिल्ला शिक्षा समन्वय इकाईको अनुगमन टोली पक्राउ गरेको थियो।
बुधवार ग्रामथानको सरस्वती माध्यमिक विद्यालयबाट एक जना नक्कली विद्यार्थीलाई पक्राउ गरेपछि जिल्ला शिक्षा समन्वय समितिले विद्यार्थीको प्रवेश पत्र चेक गर्ने योजना बनाएको थियो।
जिल्ला समन्वयमा भएका सक्कली प्रवेश पत्र परीक्षा शुरू हुनुभन्दा अगाडि नै परीक्षा केन्द्रमा पुर्याइएको थियो।
शिक्षा समन्वय र प्रहरीले विद्यार्थीसँग भएको प्रवेश पत्र र शिक्षा समन्वयबाट लगिएको सक्कली परिचय जुधाएर हेरेका थिए। फोटो फरक परेपछि प्रहरीले जन्म मिति, बुबा–आमाको नाम सोधेको थियो। नाम फरक परेपछि नियन्त्रणमा लिइएको थियो।
उनीहरुको प्रवेश पत्रमा नाम एउटै भए पनि फोटो भने नक्कली विद्यार्थीको राखिएको फेला परेको थियो।
कक्षा ८ पास गरेर विद्यालयको पढाइ छाडेका विद्यार्थीलाई पढ्ने मौका दिएर खुलामार्फत एसईईमा सहभागी गराइन्छ। यस्ता, विद्यार्थीले परीक्षा फारम भने कन्सल्टेन्सीमार्फत भर्ने गर्छन्।
कन्सल्टेन्सी नै नक्कली विद्यार्थी खोजिदिने समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
नक्कली विद्यार्थीलाई सोधपुछ गर्दा कन्सल्टेन्सीले परीक्षा लेख्न पठाएको भनेका छन्। ती अधिकारीले भने एक जना विद्यार्थीबाट ४० हजारसम्म लिएर थोरै पैसा दिएर उनीहरूलाई परीक्षा लेखाउन लगाउने गरेको बताएका छन्।
मोरङमा ७ वटा विद्यालयमा खुल्ला विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ। जसमा १ हजार ३२ विद्यार्थी सहभागी छन्।
बिहीबार भएको परीक्षामा २ नक्कली विद्यार्थी भने फरार भएका छन्। सरस्वती माध्यमिक विद्यालयमा परीक्षा लेखिरहेका २ नक्कली परीक्षार्थी परीक्षा सकिनुअघि नै नै हिँडेका हुन्।
परीक्षा सुरु भएको एक घण्टापछि शौचालय जान भन्दै निस्केका विद्यार्थी विद्यालयको कम्पाउन्ड वाल नाघेर भागेका थिए। विद्यार्थी भागेपछि प्रहरी पनि शंकाको घेरामा परेको छ।
Shares
प्रतिक्रिया