हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आइतबार बजेटसम्बन्धी दुई अध्यादेश जारी गरेको छ।
यससँगै गत भदौ १० गतेदेखि जारी त्यहाँको बजेटशून्य अवस्था पनि अन्त्य भएको छ।
सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएसँगै बजेट शून्यता हटेको हो।
कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाट निर्णय गराएर आइतबार दुईवटा अध्यादेश ल्याइएको हो।
सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतबार नै जारी गरिसकेका छन्।
मुख्यमन्त्री कार्कीले शुक्रबार साँझ मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए।
यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो।
उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले कामचलाउ बनाइदिँदै दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएको थियो।
त्यसपछि भदौ १० बाट कोशी प्रदेश बजेट शून्यतामा थियो। अब फेरि अध्यादेश जारी भएसँगै बजेट शून्यको अवस्था हटेको छ।
Shares
प्रतिक्रिया