नेपाल आँखा बैंकमा हालसम्म झण्डै १ लाख भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्।
मृत्यु पश्चात आँखाको नानी दान गर्दा १२ हजार भन्दा बढीले पूनः दृष्टि पाएको नेपाल आँखा बैंकले जानकारी दिएको छ।
पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ।
बुधबार तिलगंगा आँखा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेपाल आँखा कार्यक्रम अन्तर्गतको नेपाल आँखा बैंकले समय समयमा मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्नेे व्यक्तिहरुको सम्झना र सम्मानमा उनीहरुका परिवारहरुको उपस्थितिमा श्रद्धा सुमन अर्पण गर्न सामुहिक श्रद्धाञ्जली–सभा को आयोजना गर्दै आएको जानकारी दिएको छ।
‘आँखा दान महादान’ भन्ने नाराका साथ सुरु गरिएको उक्त अभियानमा नेपाल आँखा बैंकमा हाल सम्म झण्डै १ लाख भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको प्रतिष्ठानले जनाएको छ।
आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी रहेको तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले जानकारी दिइन्।
दृष्टिविहीन हुनुको दोश्रो प्रमुख कारण नानी बिग्रिनु
नेपालमा दृष्टिविहीन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर रहेको डा गुरुङ्ग बताउँछिन्।
आँखाको नानी बिग्रिएपछि हुने एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरि पुनः दृष्टि फर्काउनु नै रहेको उनले जानकारी दिइन्।
‘नानी बिग्रिएर दृष्टिविहीन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन्,’ डा गुरुङ्गले भनिन्, ‘त्यस्ता व्यक्तिहरुका लागि तपार्इँ हामीले मृत्यु पश्चात आँखा दान गरिदिने हो भने दुई देखि चार दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन्।’
त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित बनिरहेको उनको भनाइ छ।
आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन, परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ।
आँखाको नानी प्रत्यारोपणका लागि आर्यघाट विद्युतीय शवदाह गृह लगायत वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जनचेतना जगाई रहेका छन्। जसका कारण आँखा दान गर्नेको संख्या बढ्दै गइहरेको छ।
त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौंडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षत्रिय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको छ।
डा. गुरुङ भन्छिन्, ‘धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्दछु। अहिले धेरै मानिसहरुको आँखा दानप्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदैछ।’
मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहीनलाई पुनः दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुने नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायनाले बताए।
‘मृत्युपछि अगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी, कसैका लागि प्रयोगमा आउनु, सत्कर्म हो’ उनले भने, ‘आँखा दान जस्तो मानवीय कार्यका लागि सबैलाई उत्प्रेरणा जगाई आत्मा शान्तिको कामना गरौं।’
Shares
प्रतिक्रिया