रुपन्देहीका बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ।
बुटवल उपमहानगरपालिका छ सय पशुमा खोप लगाइएको पशुपक्षी विकास शाखाका उपनिर्देशक झवीन्द्र बञ्जाडेले जानकारी दिए। वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाई र भैँसीलाई लगाउने तयारी भइरहेको उनले बताए।
बुटवलमा करिब छ हजार सात सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उनले बताए।
भैँसीमा भन्दा गाईमा बढी सङ्क्रमण देखिएकाले सतर्कता अपनाउनुपर्ने उपनिर्देशक बञ्जाडेले बताए। अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उनको भनाइ छ।
यस्तै तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने रोग लम्पी स्किन विरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ। तिलोत्तमा–२ तपाह लाइनमा रहेकी कृषक ईश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरेको हो।
सो अवसरमा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले पशुमा लाग्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे।
उपप्रमुख जगेश्वरदेवी चौधरीले रोग तथा महामारीबाट हुने क्षति न्यूनीकरणका लागि नगरका कृषकलाई अनिवार्य पशु बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरिन्।
नगरपालिकाको पशु शाखाकी डा उषा देवकोटाका अनुसार विशेषगरी गाईरगोरुमा लम्पी स्किनको सङ्क्रमण बढी देखिएको छ। तिलोत्तमामा रहेका १० देखि १२ प्रतिशत गाईलाई लम्पी स्किनको सङ्क्रमण रहेको छ। नगरमा करिब पाँच हजार दुई सय गाईरगोरु रहेका छन्।
हालसम्म ८० देखि ९० गाईरगोरु लम्पी स्किनका कारण मृत्यु भएको देवकोटाले जानकारी दिइन्।
पहिलो चरणमा कृषकका गोठमा रहेका गाईरगोरुलाई खोप लगाइने छ भने नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि सञ्चालन गरेको गौशालामा समेत खोप अभियान सञ्चालन गरिने छ। रासस
Shares
प्रतिक्रिया