ad ad

मधेस


हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनबाट शुक्रबार बिहान देखिएको हुस्सु। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार ८:४६, सर्लाही

बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन्। 

मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ। 

हरिवनको अर्काे दृश्य। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर

कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अति विपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन्। विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन्। परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताए। 

ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताइन्। “बिहानैदेखि घर बाहिर निस्कन मुस्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ”, उनले भनिन्। 

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ। हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरुले ज्यान गुमाएका हुन्। प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ। अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। 

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन्। अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ। चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ। चिसोबाट जोगाउन पशुचौपायाका लागि  गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ। 

अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा स्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख शङ्कर साहले जानकारी दिए। रासस  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .