ad ad

मधेस


रौतहटमा आगलागीबाट २० घर नष्ट, करोडभन्दा बढी क्षति

रौतहटमा आगलागीबाट २० घर नष्ट, करोडभन्दा बढी क्षति

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०७९ सोमबार ९:११, सर्लाही

आइतबार एकैदिन रौतहटका तीन ठाउँमा आगलागी हुँदा २० वटा घर जलेर नष्ट भएका छन्। 

आगलागीबाट एक करोड १६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए। 

रौतहटको माधवनारायण नगरपालिका, महोरा नगरपालिका र ईशनाथ नगरपालिकामा आइतबार दिउँसो आगलागी भएको हो। 

माधवनारायण नगरपालिकामा भएको आगलागीमा १५ वटा घर जलेका छन्। 

त्यसैगरी महोरा नगरपालिकामा चार र इशनाथ नगरपालिकामा एउटा घर आगलागीबाट नष्ट भएको डीएसपी यादवले जानकारी दिए।

‘आगलागीमा परेर घरसँगै लत्ताकपडा, अन्नपात, भाँडावर्तन र पशुचौपायासमेत जले पनि मानवीय क्षति भने भएको छैन,’ डीएसपी यादवले नेपालखबरसँग भने, ‘सुरक्षाकर्मी, स्थानीय र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ।’ 

माधवनारायण नगरपालिका- ४ विसुनपुर्वा मानपुर निवासी दिनकर मुखियाको घरबाट सुरु भएको आगलागीमा परी वरपरका अन्य १४ घर जलेका छन्। 

आगलागीबाट दिनकरसँगै सोही ठाउँका बिकाउ मुखिया, नन्दलाल मुखिया, बलकेशिया देवी, हरेशी मुखिया, जोगिन्दर मुखिया, नेमिलाल मुखिया, जिनिस मुखिया, इन्द्रदेव भगत माली, मोती भगत माली, बद्री भगत माली, विशाल भण्डारी, मनोज मुखिया र रामविवेश रायको घर नष्ट भएका हुन्। 

त्यसैगरी रौतहटकै पहोरा नगरपालिका-३ तेजापाकड टोलमा भएको आगलागीमा स्थानीय बिगु महतो, जिपस महतो, वेदामी लाल महतो र शेषअली महमदको घरगोठ जलेर नष्ट भएका छन्। 

आइतबारै इशनाथ नगरपालिका- ७ स्थित ठूलो घिउरामा आगलागी हुँदा स्थानीय ग्यासुदिन मन्सुरीको घर जलेको छ। 

स्थानीय तहसँग वारुणयन्त्र नहुँदा आगलागीबाट बढी क्षति भएको इलाका प्रहरी कार्यालय गरुढाका डीएसपी छेदीलाल कामतीले बताए।

‘माधवनारायण नगरपालिकासँग वारुणयन्त्र छैन। गाउँमा आगलागी भएको जानकारी पाउनासाथ हामीले चन्द्रपुर नगरपालिकाको वारुणयन्त्रलाई खबर गरेका थियौँ, तर त्यहाँको वारुणयन्त्र पनि बिग्रिएको रहेछ’, डीएसपी कामतीले भने, ‘पछि गौर गरपालिकाको एउटा वारुणयन्त्र, स्थानीयका पानी ट्यांकर र गाउँलेहरुको सहायतामा आगलागी नियन्त्रणमा लिइयो।’

चैत-वैशाखजस्ता सुक्खा मौसममा बर्सेनि रौतहटमा आगलागीका दर्जनौँ घटना हुने गरेका छन्। तर, सदरमुकामसमेत रहेको गौर नगरपालिका र चन्द्रपुर नगरपालिकाबाहेक अन्य पालिकासँग वारुणयन्त्र छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .