ad ad

म्यागेजिन


सी विचारले जुर्मुराएको चीनसँग नेपालको विकास साझेदारी

सी विचारले जुर्मुराएको चीनसँग नेपालको विकास साझेदारी

चेतनाथ आचार्य
असोज २६, २०७७ सोमबार १६:१७,

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको एक वर्ष बितेको छ। त्यस क्रममा भएका विभिन्न सन्धिको कार्यान्वयन जुन गतिमा हुनुपर्थ्यो, त्यस्तो हुन सकेको छैन। सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालको सत्तारूढ दल नेकपाले ‘सी विचारधारा’बारे चासो राखेरै चीनका नेताबाट प्रशिक्षण पनि लिएको थियो। सम्भवतः चिनियाँ कम्युनिस्ट पार्टीले सी विचारधारामा केन्द्रित रहेर चीनबाहिर पहिलोपटक त्यस प्रकारको गोष्ठी आयोजना गरेको थियो। कार्यक्रम चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र नेकपाको स्कुल विभागले संयुक्त रूपमा आयोजना गरेका थिए।

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनबाट महासचिवमा चुनिएपछि सी चिनफिङले बारम्बार दोहोर्याइरहेको कुरा हो– जनताको हितमा काम गर। राजनीतिक दलका लागि जनता नै सर्वोपरी हो र नेताले सधैं जनतामाझ गएर काम गर्नुपर्ने कुरालाई चीनमा निकै महत्व दिइन्छ। यही कुरा नेपाल भ्रमणताका चिनियाँ राष्ट्रपति सीले जोड दिएर बोलेका थिए। चीनको संविधानमा समेटिएको ‘सी विचारधारा’को मूल मर्म पनि यही हो।

सन् २०१७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनले ‘सी चिनफिङ विचारधारा’लाई चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा समेटेको छ। सन् २०१८ मार्चमा सम्पन्न १३औं राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले चीनको संविधान संशोधन गरेर सीलाई थप शक्तिशाली बनायो र आफ्नो विचारधारालाई पूर्ण रूपमा लागू गर्न मार्गप्रशस्त गरिदियो।

नेपाल कम्युनिस्ट पार्टीका नेताले पनि मुक्तकण्ठले सी विचारधाराको प्रशंसा गरेका छन्। १ अर्ब ४० करोड जनसंख्या भएको विशाल चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। शान्तिपूर्ण विकास र भाइचाराको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्ने चीनको भूमिका विश्वशान्ति र विकासका लागि दिनानुदिन बढिरहेको छ। जलवायु परिवर्तनबाट अमेरिकाले हात झिकेपछि दिगो र हरित विकासका लागि चीनको भूमिका झन् गहन भएको कुरा सबैले स्वीकार गरेका छन्। कोरोना महामारी नियन्त्रणमा चीनको नमुना तरिकालाई विश्वले अंगीकार गरेको छ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिइरहेको सहयोग र समर्थन रोकेपछि बाँकी विश्वले चीनप्रति थप आशा गरेको कुरा सर्वविदितै छ।

अहिले अन्तर्राष्ट्रिय समाजमा जुन रूपमा चीनको भूमिका र सक्रियता चुलिएको छ, त्यसको जग पनि सी विचारधारा नै हो। ‘सुतेको ड्रागन’ उपमा पाएको चीन जुर्मुराउँदा नेपालजस्ता छिमेकी र अन्य राष्ट्रले विकासमा साझेदारी हुने मौका पाएका छन्।

सन् १९९० ताका शीतयुद्ध समाप्त भएपछि अमेरिकाले हतियार र राजनीतिक प्रभावका कारण विश्वमा एकछत्र हैकम जमाउँदै एक ध्रुवीय बनाएको थियो। पछिल्लो समय चीनको सक्रियता विचार निर्यात अथवा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर विकास र उन्नतिमा केन्द्रित भइरहेको छ। चीनको शब्दावली प्रयोग गर्ने हो भने साझा मानव भाग्य समुदाय निर्माण गर्ने हो। अथवा उज्यालो भविष्यमा सबैले हिस्सा खोज्ने हो।

साझा मानव, भाग्य समुदायको निर्माण गरी उज्यालो भविष्यको हिस्सा बाँड्ने विषय नै सी विचारधाराको चुरो हो। नेपालका कम्युनिस्ट नेता सी विचारधाराको प्रशंसा गर्छन्, तर यसको गहन अध्ययन गरी आत्मसात् गर्दैनन्। सी विचार के हो भन्ने कुरा थाहा पाउन ‘सी चिनफिङ : चीनको शासन’ पुस्तक राम्ररी अध्ययन गर्न आवश्यक छ। गत जुन ३० तारिख चीनको विदेशी भाषा प्रेसले उक्त पुस्तकको तेस्रो भागको अंग्रेजी संस्करण प्रकाशन गरेको छ।

‘सी चिनफिङ : चीनको शासन’ तेस्रो भागमा सन् २०१७ अक्टोबर १८ देखि २०२० जनवरी १३ सम्म चीनका राष्ट्रपति सी चिनफिङले गरेका/दिएका भाषण, सम्बोधन, निर्देशन, सन्देश छन्। सीले चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनमा पेस गरेको प्रतिवेदनबाट सुरु भएर चिनियाँ कम्युनिस्ट पार्टीको १९औं केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा दिएको भाषणमा गएर टुंगिएको छ, ६५० पृष्ठको पुस्तक। सी सहभागी विभिन्न कार्यक्रमका ४१ तस्बिर पनि पुस्तकमा छन्।

सी चिनफिङका हरेक सम्बोधन, मन्तव्य, भाषण, निर्देशन, पत्र तथा सन्देश फगत अस्थायी धारणा ‌होइनन्। सीको एक सम्बोधन तयार गर्न थुप्रै चिनियाँ विज्ञ, विशेषज्ञ, वैज्ञानिक, विशिष्ट ज्ञान भएका व्यक्तिको दिमाग र समय खर्च भएको हुन्छ। त्यस्ता उच्च बौद्धिक वर्गका राय सुझाव समेटेर तयार पारिएका ती सम्बोधन अथवा भाषण आफैंमा दस्तावेज हुन्। सीका हरेक सम्बोधन अथवा भाषणमा वैज्ञानिक र तथ्यपरक विषयसहित चीनका कार्यक्रम समेटिएका हुन्छन्।

झट्ट सुन्नेलाई कुनै समारोहमा दिएको भाषणको ठूलो महत्व नहुन सक्छ, तर सीले व्यक्त गरेका विचारमा ४० वर्षदेखि चीनले उक्लेका खुड्किला हुन्छन्, जसमा आधुनिक चिनियाँ विकासको सभ्यता गहन रूपमा समेटिएको हुन्छ। सीले दोहोर्‍याइरहने दिगो विकास र आधुनिक चिनियाँ सभ्यताका पछाडि निम्नानुसार खुड्किला छन् :

सन् १९७८ मा चिनियाँ कम्युनिस्ट पार्टीको ११औं केन्द्रीय समितिले सुधार र खुलापन अँगाल्ने निर्णय गरेको थियो। त्यसैगरी सन् १९९२ मा सम्पन्न १४औं महाधिवेशनले चिनियाँ चरित्रको बजारमुखी अर्थतन्त्र अगाडि सारेको थियो। सन् १९९७ मा सम्पन्न पार्टीको १५औं महाधिवेशनले चीनलाई विधिको शासनअन्तर्गत समाजवादी मुलुक बनाउने घोषणा गरेको थियो। यी खुड्किला पार गर्दै यतिबेला चीन सी विचारधारामा आइपुगेको हो।

‘सी चिनफिङ : चीनको शासन’को तेस्रो भागमा १९ च्याप्टर छन्। सीका ९१ वटा सम्बोधन अर्थात् मन्तव्य समेटिएका छन्। जसमा राजनीतिक, आर्थिक, भौगोलिक, सांस्कृतिक, कूटनीतिक आदि विषय छन्। नयाँ युगमा चिनियाँ चरित्रको समाजवादी विचारधारा, पूर्ण रूपमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्व, राज्य प्रणाली र राष्ट्रिय शासन, राष्ट्रका लागि जनताको महत्व, गरिबी निवारण र मध्यमस्तरको समृद्ध समाज, क्रमशः सुधार, चौतर्फी खुला, जोखिम व्यवस्थापनजस्ता विषयमा सीले विभिन्न समारोहमा दिएका लामा मन्तव्य पुस्तकमा छन्।

त्यसैगरी उच्चगुणस्तरीय विकास, समाजवादी प्रजातन्त्र, चिनियाँ संस्कृति, जनताको हित, मानव र प्रकृतिबीचको सद्भाव, जनसैनिक, हङकङ–मकाउ र चीनको शान्तिपूर्ण पुनःएकीकरण, चिनियाँ कूटनीतिजस्ता विषयमा चीनले पछिल्लो समय अंगीकार गरेको कूटनीति र शान्तिपूर्ण सार्वभौम रक्षाका विषय उठाइएका छन्। साझा भविष्यका लागि विश्वव्यापी समुदाय, बीआरआई र सीपीसीको आफ्नै सुधारजस्ता विषयमा पछिल्लो समय चीनको विकासका लागि साझा अभिमत सिर्जना गर्ने सीका गहन भाषण पुस्तकमा छन्।

सुधार र खुलापनमा चीनलाई डोर्‍याउने नेता तङ स्याओफिङले कुनै बेला भनेका थिए– ‘बिरालो सेतो होस् वा कालो, त्यसले मुसा मार्नुपर्छ।’ तङको सुधार कार्यक्रमको आलोचना हुँदा उनले नाम जे राखे पनि त्यसले विकास गर्नुपर्ने कुरामा सशक्त आवाज उठाउने क्रममा उक्त भनाइ राखेका थिए। अहिले सी चिनफिङ भन्ने गर्छन्, ‘पहिले जनताको हितमा काम गर। जनता र राष्ट्रलाई सधैं उच्च स्थानमा राख र काम गर। आफ्नो स्वार्थ पूरा गर्न राजनीति नगर।’

सी विचार नेपाली नेताका लागि पनि मार्गदर्शक बन्न सक्छ। बेइजिङमा पानी पर्दा काठमाडौंमा छाता ओढ्नुपर्छ भन्ने हैन। तर नेपालका नेताले कमसेकम चीनमा कसरी गरिबी निवारण भयो, चीनले कस्तो विकास गरेको छ, चिनियाँ कूटनीति कस्तो छ भन्ने कुरा मात्र मनन गर्ने हो भने नेपालले काँचुली फेर्न सक्थ्यो।

‘सी चिनफिङ : चीनको शासन’, कम्युनिस्टका लागि मात्र होइन, सबै राजनीतिक नेताका लागि पढ्नैपर्ने किताब हो। तर कम्युनिस्ट भनाउँदा नेपाली नेता आफूलाई सी विचारधारा कण्ठस्थ भएको भनेर गफ छाँट्छन्, तर जनताका लागि भने सिन्को भाँच्दैनन्। चिया पसलमा बसेर पुङ न पुच्छरका गफ हाँक्नुभन्दा ‘सी चिनफिङ : चीनको शासन’ एकपटक पढ्ने कि?

(आचार्य, बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .