ad ad

छापा खबर


तुम्बाहाम्फेले राजीनामा दिने, ठाकुरले संसद् बैठक चलाउने

तुम्बाहाम्फेले राजीनामा दिने, ठाकुरले संसद् बैठक चलाउने

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १:२५,

नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ।

पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्।

संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्।

सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ।

‘जेष्ठ सदस्यले अध्यक्षता गर्ने गरी उपसभामुखले राजीनामा दिनुहुनेछ,’ नेकपा संसदीय दल स्रोतले भन्यो, ‘उहाँले राजीनामा दिनैपर्ने अवस्था छ। बैठक बस्नुअघि राजीनामा आउँछ।’

 उपसभामुख तुम्बाहाम्फेले भने सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ भएपछि आफूले राजीनामा दिने बताइन्। ‘प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा मैले कार्यव्यवथा परामर्श समितिको बैठक बोलाउने तयारी गरेकी छु,’ उनले भनिन्, ‘दलहरुको सुझावअनुसार अघि बढ्नेछु।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते ४ बजे बस्ने गरी संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।

नयाँ सभामुख को?

संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो। स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्।

नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो। पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन्।

अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाडेकी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .