ad ad

छापा खबर


जब बलात्कारीलाई बुबा भनेर लेख्नुपर्छ...

जब बलात्कारीलाई बुबा भनेर लेख्नुपर्छ...

नेपालखबर
पुस ७, २०७६ सोमबार ४:६,

उनी २३ वर्षकी भइन् । रक्षा नेपालको आश्रय पाएको ६ वर्ष भइसक्यो । उनी सात वर्षसम्म बलात्कृत भइरहिन् । त्यो पनि बुबा र हजुरबुबाबाटै।

उनले नौदेखि १६ वर्ष हुँदासम्म घरमा पीडा खेपिरहिन् । यही पीडाको बीच उनले एसएलसी पास पनि गरिन् ।

यो अवधिसम्म पनि उनी बलात्कृत भइरहिन् । पीडा सहनै नसकेर आत्महत्या गर्न लाग्दा प्रहरीले बचाएपछि मात्रै यो रहस्य बाहिर आएको हो ।

त्यसपछि हजुरबुबाले आत्महत्या गरे, छोरी बलात्कार गरेकै कारण बुबा तीन वर्षदेखि जेल सजाय भोगिरहेका छन् । अदालतले उनलाई १८ वर्ष जेल सजाय तोकेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा विद्या राईले लेखेकी छन्।

रक्षा नेपालमै आएर उनले कक्षा ११ र १२ पास गरिन् । अहिले एमबीबीएस अध्ययनरत छिन् । उनी स्त्रीरोग विशेषज्ञ बन्न चाहन्छिन् । चिकित्सकले मेडिकल रिपोर्ट सही नलेखिदिएकै कारण धेरै पीडित न्यायबाट वञ्चित रहेको उनी बताउँछिन् ।

उनी उच्च शिक्षा अध्ययनका लागि फारम भर्ने बेला बुबाको नाम लेख्नुपर्ने ठाउँमा के लेख्ने भन्ने घोत्लिन्छिन् । त्यही बुबाको नाम लेखौ सात वर्षसम्म बलात्कार गर्दा भोगेको पीडा सम्झन्छिन् ।

नलेखौ रजिस्ट्रेसनलगायत परीक्षा फारम अधुरै हुन्छ । ‘मेरो नागरिकतामा त्यही व्यक्तिको नाम छ, जसले पशुले जस्तो व्यवहार गर्‍यो, म उसको नाम लेख्नै सक्दिनँ,’ उनले भनिन् । नागरिकता परिवर्तन गरेर बलात्कारी बाबुको नाम हटाउन पाए पीडा भुल्न सजिलो हुने उनी बताउँछिन् ।

उनको बुबाका चार पत्नी थिए । उनी माइलीपट्टिकी जेठी छोरी हुन् । सहरमा एउटा घर, गाउँमा अर्को । बुबा विदेशमा थिए । बुढ्यौली उमेरका हजुरबुबा सहरको घरमा बस्थे । नौ वर्षीया उनी हजुरबुवासँगै बस्थिन् ।

एक दिन बेस्सरी पानी पर्‍यो । एकदम जाडो थियो । उनी भुइँमै सुत्थिन्, हजुरबुबा खाटमा । त्यस दिन जाडो भएकाले हजुरबुबाले खाटमा सुत्न बोलाए, ‘जाडो छ, न्यानो हुन्छ, मसँगै सुत्न आऊ ।’ खुसीसाथ हजुरबुबा सुतेका ठाउँमा गइन् । हजुरबुवाले अँगालो मारे । माया गरेको भन्ठानिन् । कुनै अप्ठेरो महसुस भएको थिएन ।

हजुरबुबाले ‘तिमी पनि लुगा खोल, म पनि खोल्छु, लुगा खोलेपछि सिरकमा गुटमुटिएर सुत्दा तातो हुन्छ,’ भने । उनले मानिनन् । नम्र भएर सम्झाइबुझाइ गर्दा पनि नटेरेपछि हजुरबुबाले हप्काउँदै जबरजस्ती लुगा खोलिदिए । उनले प्रतिवाद गरिन् । लुगा च्यातियो । हजुरबुबाले त्यही लुगाले हातखुट्टा बाँधिदिए र बलात्कार गरे । उनले केही भन्नै सकिनन् ।बलात्कार गरिसकेपछि धम्क्याए, ‘कसैलाई नभनेस्, भनिस् भने तँलाई र तेरो आमालाई घरबाट निकालिदिन्छु ।’

उनी रगताम्मे भएकी थिइन् । यौनांगमा चोट लागेको थियो । असह्य हुने गरी दुखेको थियो । भोलिपल्ट हजुरबुबाले अस्पताल लगे । डाक्टरले स्वास्थ्य ठीक छ भनी एउटा औषधि दिएर पठाए ।

त्यसपछि पनि हजुरबुबाले दुईपटक बलात्कार गरे । स्कुलमा साथीहरूले छुँदा पनि उनलाई झड्का लागेझैं हुन्थ्यो । हजुरबुबा आइपुगे कि भनेर झस्किन्थिन् । १४ वर्षकी हुँदा विदेशबाट बुबा आए ।

बुबा विदेशबाट फर्केको दिन उनको खुसीको सीमा थिएन । हजुरबुबाले आफूमाथि गरेको अत्याचारबारे बुबालाई सुनाउन खोजिन् तर सुन्नै चाहेनन् ।आफ्नो पीडा बुबालाई भनेपछि हजुरबुबाले फेरि बलात्कार नगर्लान् भन्ने सोचेकी थिइन् ।

उनले जे सोचेकी थिइन बुबाबाट पनि समाधान भएन । बुबा मादकपदार्थ सेवन गर्थे । कहिले माया गरेजस्तो गर्थे । उनी मख्ख पर्थिन् ।

एक दिन घरमा भाइबहिनी मात्रै भएको बेला उनलाई बुबाले मायालु स्वरमा बोलाए । उनी खुसी हुँदै गइन् । बुबाले उनलाई भने, ‘छोरी तिमीले हजुरबुबाका बारेमा केही सुनाउँछु भनेकी थियौ नि, भन के हो, आज मसँग समय छ ।’ आफूमाथि भएका कुरा उनले रुँदै बेलीविस्तार लाइन् ।

बुबाले छोरीलाई चुम्बन गर्न थाले । अँगालो मार्न थाले । बुबाले पनि हजुरबुबाकै पारा देखाएपछि उनी उम्किन चाहिन् । बुबाले नम्र भएर सम्झाउन थाले । ‘विदेशतिर यस्तो गर्दा छोरीहरूले केही भन्दैनन्, तिमी चिन्ता नगर, म छु । मसँग पैसा छ, तिम्रा लागि जे पनि गर्न सक्छु,’ भनेर फकाए । तर, उनले मानिनन् । नमानेपछि बुबाले धकेलेर भित्तामा ठोकाइदिए र सबै लुगा च्यातिदिए । हात–खुट्टा बाँधिदिए र बलात्कार गरे ।

उनी धेरै बेरसम्म रोइन् । बलात्कार गरेपछि हजुरबुबाले जस्तै बुबाले पनि धम्क्याउँदै भने, ‘कसैलाई नभन्नू, भनिस् भने मारिदिन्छु, तेरो आमा, भाइबहिनी कसैलाई छोड्दिनँ ।’

त्यसपछिका दुई वर्ष कसरी बिते, त्यो कि मलाई थाहा छ किभगवान्लाई,’ उनले भनिन्, ‘बुबाले जति बेला पनि बोलाउँथे । नमान्दा कतिपटक पिटाइ खाएँ । गन्ती छैन ।’

आमाको पनि साथ नपाएकी उनलेआफूमाथिका अत्याचारबारे मामालाई सुनाइन् । उनको मामा र माइजू प्रहरी हुन् । मामाले पनि इज्जतको ख्याल गर्न सम्झाए, ‘भान्जी, तिमीलाई थाहा छँदै छ, हामी इज्जतवाल मान्छे । इज्जतको ख्याल गर्नुपर्छ । बरु सम्पत्ति मिलाइदिउँला, इज्जतको कारणले पनि चुप लाग्नुपर्छ ।’

उनको पीडा कसैले सुनेनन् । आमा, मामालाई लगाएको बेलीविस्तार बुबाको राक्षसी व्यवहारका लागि मलजल भइरहेको थियो । अत्याचार बढ्दै थियो । पेन्सिल किन्नसमेत बुबाको ओछ्यान बन्नुपर्थ्यो । एसएलसी दिएपछि प्लस टु भर्ना गरिदिन बुबालाई आग्रह गरिन् । त्यसका लागि पनि बुबाको एउटै सर्त थियो— फेरि यौनसम्पर्क।

यी सबै पीडा खप्न नसकेर बाँच्नुको औचित्य नदेखेपछि आत्महत्या गर्ने निर्णय लिइन् । विष किनिन् । विष सेवन गर्नुअघि बुबा र हजुरबुबालाई सजाय दिनैपर्छ भनेर डायरीमा सबै कुरा लेखिन् । मर्नुको कारण के हो भन्ने स्पष्ट खुलाएर लेखिन् । धुलिखेलको जंगलमा गएर विष सेवन गरिन् । छटपटाइन् । लड्दैपड्दै रोडसम्म पुगिछन् ।

गस्तीमा गएका प्रहरीले भेटेर धुलिखेल अस्पताल पुर्‍याए । डायरी भेटेर पढेपछि प्रहरीले आफ्नै निगरानीमा राखे । उनीहरूले नै रक्षा नेपालमा फोन गरिदिए । चार दिन कोमामा बसेर ब्युँझिइन् ।

१२ दिनपछि डिस्चार्ज भइन् । प्रहरीले उनलाई चौकीमा लगे र उजुरी तयार पारे । बुबा पनि पक्राउ परे । पक्राउ पर्नुअघि नै हजुरबुबाले आत्महत्या गरे । उनी रक्षा नेपालको आश्रयमा बस्न थालिन् ।

मनोसामाजिक परामर्शबाट उनी निकै तंग्रिइसकेकी छन् । तैपनि विगतका पीडादायी क्षणहरू बिर्सन नसकेको बताउँछन् । भन्छिन्, ‘सबै कुरा बिर्सिन कि मर्नुपर्छ कि त पागल बन्नुपर्छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .