ad ad

छापा खबर


अब जति बिजुली बाल्यो, उति कम शुल्क

अब जति बिजुली बाल्यो, उति कम शुल्क

नेपालखबर
माघ १४, २०७६ मंगलबार ५:१६,

नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो।

घरायसी उपभोक्ताले जति बढी विद्युत् उपभोग गर्‍यो, उति कम महसुल लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ। प्राधिकरणले यो दरलाई विद्युत् नियमन आयोगबाट स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।

प्राधिकरणको हालको विद्युत् महसुल दरअनुसार घरायसी उपभोक्ताले जति बढी विद्युत् महसुल उपभोग गर्‍यो, उति महँगो दर लागू हुँदै जाने व्यवस्था छ। यो व्यवस्था परिवर्तन गरेपछि घरायसी उपभोक्ताले बढी विद्युत् खपत गर्ने प्राधिकरणको विश्वास छ।

घरायसी प्रयोजनका लागि विद्युत् माग बढाउन प्राधिकरणले यस्तो निर्णय गरेको हो। बढी विद्युत् खपत गर्ने ग्राहकलाई सस्तोमा विद्युत् उपभोग गर्न दिँदा खाना पकाउने ग्यास विस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।

आगामी वर्षदेखि वर्षायाममा खपतभन्दा बढी विद्युत् उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत् खपत बढाउने उपायको खोजी गरिरहेको छ। अघिल्लो महिना प्राधिकरणले उद्योगलाई महँगो शुल्क लिएर दिइँदै आएको डेडिकेटेड विद्युत्को महसुल हटाएको थियो।

अब डेडिकेटेड लाइनबाट विद्युत् लिने उद्योगले पनि उद्योगका लागि लागू हुने सामान्य विद्युत् महसुल दरभन्दा करिब १५ प्रतिशत मात्रै बढी शुल्क तिर्नुपर्नेछ। यो खबर विजय तिमल्सिनाले आजको कान्तिपुरमा छापिएको छ।

यसअघि यस्तो शुल्क ६५ प्रतिशत महँगो थियो। नयाँ दर कायम गर्न ‘ब्लक’ समेत परिर्वत गरिएको प्राधिकरणले जनाएको छ। अब उपभोक्ताले जति बढी विद्युत् खपत गर्छन्, उति नै सस्तो दर तिर्नुपर्नेछ।

प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि १ सय ५० र १ सय ५० देखि २ सय र २ सयदेखि ४ सय युनिटसम्म विद्युत् खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो।

प्राधिकरणले यसअघि नै १० युनिटसम्म मात्रै विद्युत् खपत गर्नेलाई मासिक ३० मात्रै लिएर विद्युत् उपलब्ध गराउने निर्णय गरिसकेको छ । मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहक करिब ७ लाख भएको प्राधिकरणको तथ्यांक छ। मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहक १७ लाख भएको प्राधिकरणको तथ्यांक छ।

प्राधिकरणले विद्युत् माग पूरा गर्न भारतबाट विद्युत् आपूर्ति गरिरहेको छ। आगामी बर्खादेखि भने स्वदेशमै उत्पादित विद्युत् खेर जाने अनुमान छ। सुक्खायाममा विद्युत् आयात गर्नुपरे पनि बर्खामा स्वदेशमा उत्पादित विद्युत् खेर जान सक्ने आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .