ad ad

छापा खबर


ल्यापटप सुरक्षित राख्न यी हुन् सरल उपाय

ल्यापटप सुरक्षित राख्न यी हुन् सरल उपाय

नेपालखबर
माघ १४, २०७६ मंगलबार ५:५९,

वर्तमान अवस्थामा कुनै पनि कामकाजी व्यक्तिको अभिन्न अंगका रूपमा ल्यापटप भइसकेको छ। ल्यापटप बोक्नु विद्यार्थीदेखि कार्यालयमा काम गर्ने व्यक्तिका लागि आवश्यकताजस्तै भइसकेको छ।

झोलामा ल्यापटप बोक्नु अहिलेको आवश्यकता नै भइसकेको छ। उतिउपयोगी र महत्वपूर्ण साधनको रूपमा परिचित छ। महँगो हुनुका साथै हाम्रा महत्वपूर्ण डाटा यसैमा हुने भएकाले यसको सुरक्षा र हेरचाह अत्यावश्यक हुन्छ।

घर होस्, अफिस होस् वा यात्रा, यसको हेरचाह गरिएन भने चाँडै बिग्रन सक्छ, जसले गर्दा महत्वपूर्ण डकुमेन्ट क्षति हुने जोखिम बढ्छ।

ल्यापटपको राम्रो हेरचाहले यसको आयुसमेत लम्ब्याउन पनि सक्छ। आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले ल्यापटप हेरचाहका लागि केही सहज उपाय प्रस्तुत गरेका छन्।

जुन यसप्रकार छन् :

प्याडेड कभर
ल्यापटपलाई सुरक्षित राख्न सुरक्षित खोलमा राख्नुपर्छ। के नै होला र भनेर हेरचाह नगर्दा भवितव्य पर्दा समस्या हुन सक्छ।

चोरी हुन नदिन
ल्यापटप चोरी हुने ग्याजेटमा पर्दछ। त्यसैले, ल्यापटप बोकेर हिँड्दा होस् वा कुनै ठाउँमा राखेर छाड्दा, निकै होस पु¥याउनुपर्छ। कुनै झोलामा राखेर वा बाहिरै लापरबाही ढंगले ल्यापटप छाड्नुहुँदैन।

तरलपदार्थबाट जोगाउने
ल्यापटप चलाउँदै चिया, कफीलगायत पेयपदार्थमा रमाउने अधिकांशको बानी हुन्छ। तर, यस्ता तरल पदार्थ ल्यापटपमा पोखियो भने उपकरणमा नराम्रो असर पर्छ। त्यसैले, सकेसम्म ल्यापटपको नजिक बसेर चिया, कफी आदि नपिउनुहोस्। यदि, यस्ता पेयपदार्थ पिउँदै चलाउनुपरेमा कभरसहितका कप वा ग्लासको प्रयोग गर्नु राम्रो हुन्छ।

तरलपदार्थ पोखिएमा ल्यापटपमा रहेका माइक्रोइलेक्ट्रानिक कम्पोनेन्ट (सूक्ष्म विद्युतीय सामग्री)मा खराबी आउन सक्छ। साथै, सर्ट सर्किट हुँदा यसमा सञ्चित गरिएका डाटालगायत हराउने सम्भावनासमेत रहन्छ। त्यसकारण यसप्रति बढी सचेत हुनुपर्छ।

एन्टिभाइरसको प्रयोग
इन्टरनेटबाट विभिन्न सामग्री डाउनलोड गर्दा चनाखो भए तापनि तीसँगै भाइरससमेत भित्रिने खतरा रहन्छ। तर, अधिकांश मानिस आफ्ना ल्यापटपमा एन्टिभाइरसको प्रयोग गर्न चाहँदैनन्। यसो गर्दा सर्किट एरर वा प्रणालीमै सफ्टवेयर समस्या आउने सम्भावना रहन्छ। उपकरणमा भाइरस पसेमा यसले समग्र प्रणालीको कार्य क्षमतामै ह्रास ल्याउन सक्छ।

खाना तथा पाल्तु जीवबाट टाढा राख्ने
ल्यापटपलाई सकेसम्म खाना तथा घरपालुवा जनावरबाट टाढै राख्नु राम्रो हुन्छ। ल्यापटप नजिक खाना खाँदा खानाका टुक्रा यसमा पसेर समयान्तरमा उपकरणमै खराबी आउन सक्छ।

साथै, घरपालुवा जनावरका भुत्ला मात्रै पसे पनि उपकरणमा असर पर्न सक्छ। जनावर ठूला भएमा उपकरणमा ठेस लाग्ने, तारसँग अल्झिनेलगायत सम्भावना हुन्छ।

यसले उपकरण राखिएको स्थानबाट खस्नेलगायत खतरासमेत रहन्छ। यस्तो भएमा उपकरणमा क्षति पुग्न सक्छ। ल्यापटपको प्रयोग गरिने कोठा सकेसम्म सफा तथा धूलोरहित बनाउने प्रयास गर्नुपर्छ।

डिस्प्लेको सुरक्षा
ल्यापटप बन्द गर्दा स्क्रिन र किप्याडका बीचमा केही पनि नरहेको कुरा निश्चित गर्नु आवश्यक छ । उपकरण बन्द गर्दा कलम, एयरफोनलगायत सामग्री किबोर्डमा रहेमा यसले उपकरणको स्क्रिन कोर्ने सम्भावना रहन्छ।

साथै, स्क्रिन बन्द गर्दा अत्यधिक बलको प्रयोग पनि गर्नुहुँदैन। यसो गरेमा समयान्तरमा उपकरण बांगिनेलगायत सम्भावना हुन्छ। उठाउँदा सावधानी ल्यापटपलाई कहिल्यै स्क्रिनमा समाएर उठाउनु हुँदैन। यसका लागि सधैं बेसको प्रयोग गर्नुपर्छ।

साथै, स्क्रिनमा चाप पर्दा डिस्प्ले सहजै बिग्रने सम्भावना पनि रहन्छ। त्यसैले, यसमा चाप नपरोस् भन्नेतर्फ विशेष सकर्तता अपनाउनुपर्छ।

पावर कर्ड नटान्ने
ल्यापटमा रहेको पावरकर्ड निकाल्दा सधैं प्लगमा समाएर निकाल्ने बानी बसाल्नु राम्रो हुन्छ। सिधै तार समाएर प्लग निकाल्दा यसले पावर कर्ड चुँडिन वा अन्य समस्या निम्तिन सक्छ। पावर कर्डमा कुल्चने, अल्झने, मेचको मुनि डुब्नेलगायत सम्भावनाबारे पनि विशेष सजग हुनु आवश्यक छ।

अन्य उपाय
ल्यापटपमा हरेक तारका लागि विशेष स्लटको व्यवस्था गरिएको हुन्छ। कुनै पनि तार जडान गर्नुपूर्व कुन तारका लागि कुन स्लट दिइएको हो, यसबारे विशेष ध्यान दिनु आवश्यक छ। साथै, तार जडान गर्दा जबर्जस्ती बल प्रयोग कहिल्यै पनि गर्नु हुँदैन।

उपकरणमा रहेका हटाउन मिल्ने सामग्रीबारे थप सहज हुनु आवश्यक छ। निकालिएका सीडी ड्राइभलगायत सामग्री काम सकिएलगत्तै यथास्थानमा जडान गर्ने वा तिनका लागि कुनै विशेष केसको व्यवस्था गर्नु राम्रो हुन्छ।

तापक्रम परिवर्तनमा सजगता
विशेषगरी जाडो महिनामा ब्यागमा बोकिएका ल्यापटप कोठामा प्रवेश गरेलगत्तै अन गर्नु हुँदैन। कोठामा प्रवेशपश्चात् केही समय तापक्रम समायोजनका लागि उपकरणलाई समय दिनुपर्छ। साथै, प्रत्यक्ष ताप वा सूर्यका प्रकाशबाट समेत ल्यापटप जोगाउन विशेष सजगता अपनाउनुपर्छ ।

आन्तरिक सफाइ
करिब १ वर्षको समयान्तरालमा ल्यापटपलाई खोलेरै सफाइ गर्नु राम्रो हुन्छ । आफैंमा ल्यापटप खोल्ने क्षमता नभएमा यसका लागि तालिम प्राप्त प्राविधिकको सहयोग लिनुपर्छ। लामो समयसम्म धूलो जम्मा हुँदा उपकरणको चिस्यान प्रणालीलगायतमा खराबी आउन सक्छ। यसले ल्यापटपको मदरबोर्डलाई प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ। त्यसैले, यसतर्फ पनि ध्यान दिनुपर्छ।

ल्यापटपमाथि किताब, ब्यागलगायत भारी तौलका सामग्री कहिल्यै राख्नुहुँदैन। भारी सामग्रीले एलसीडी स्क्रिन र किबोर्डबीच चाप उत्पन्न गराई उपकरणमै खराबी ल्याउन सक्छ। ल्यापटप बोक्न प्रयोग गरिने ब्याग उपयुक्त आकारको हुनु आवश्यक छ। ल्यापटपभन्दा ठूलो वा सानो आकारको भएमा यसले उपकरण कोर्ने, फुट्नेलगायन समस्या ल्याउन सक्छ। तर, उपयुक्त साइजको ब्यागले भने ल्यापटप खसिहालेमा पनि ठूलो क्षति हुनबाट जोगाउँछ।

ल्यापटपको प्रयोग गर्दा सकेसम्म समतल सतहको प्रयोग गर्नुपर्छ। उक्त सतह सफा हुनु पनि उत्तिकै आवश्यक छ। खाटमा बसेरै ल्यापटप चलाउने बानी राम्रो होइन। यसरी चलाउँदा खाटमा रहेका फोहोरलगायत उपकरणको फ्यानले तान्ने हुँदा चलाउँदै जाँदा फ्यानको चिस्यान प्रणालीमै खराबी आउन सक्छ।

ल्यापटपमा समयान्तरालमा प्रयोगविहीन तथा अनावश्यक सफ्टवेयर पनि स्टोर हुँदै जान्छन् । यसले ल्यापटपको स्टोरेजमा कमी ल्याउनुका साथै समग्र उपकरणमै खराबी ल्याउने सम्भावना रहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .