ad ad

छापा खबर


१४ करोडमा खुलेको लघुवित्तको मुनाफा ६ महिनामै साढे २२ करोड, यसरी लुट्दैछन् लघुवित्तले गरिबलाई

१४ करोडमा खुलेको लघुवित्तको मुनाफा ६ महिनामै साढे २२ करोड, यसरी लुट्दैछन् लघुवित्तले गरिबलाई

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १:२९,

गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन्।

गत आर्थिक वर्ष ०७५/७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा (सात सय प्रतिशत) ले बढाएका छन्। यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा सम्भव हुँदैन, जब कि लघुवित्त त गरिब जनताको सेवा गर्ने उद्देश्यले खोलिएका हुन् ।

यीमध्ये कतिपय भर्खरै सञ्चालनमा आएका नयाँ संस्थाको नाफा त १५ हजार प्रतिशतसम्मले बढेको खबर आजको नयाँ पत्रिका दैनिकमा बिजयराज खनालले लेखेका छन्। स्पर्श, स्वाभिमान, नयाँ नेपालजस्ता लघुवित्तको नाफा एकै वर्षमा हजारौँ गुणाको वृद्धि भएको छ।

१४ करोड चुक्तापुँजी भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ६ महिनामै आफ्नो पुँजीभन्दा करिब दोब्बर नाफा गर्‍यो। यो लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ।

६ महिना अवधिमै चुक्तापुँजीको तुलनामा एक सय ६१ प्रतिशत नाफा आर्जन गर्दा उसले एक वर्षमा त साढे ४३ करोड नाफा पुर्‍याउने देखिन्छ।

यो संस्थाले गरिबको शोषण कुन तहमा गरेको होला भनेर अनुमान लगाउन सकिन्छ । जीवन विकासले वाणिज्य बैंकहरूबाट लिएको सापटी र निक्षेपसमेत गरी कुल आठ अर्ब ३४ करोड रुपैयाँ विपन्नलाई ऋण दिएर त्यति नाफा कमाएको हो।

लघुवित्त कम्पनी खोलेर गरिबको शोषण गरी उच्च नाफा आर्जन गर्दै लाभांश खाने प्रयोजनले लगानीकर्ताले लघुवित्तमा लगानी गरेको देखिन्छ।

लघुवित्त संस्थाले एकै वर्षमा ८० प्रतिशतसम्म प्रतिफल दिएर लगानीकर्ताको भने राम्रै सेवा गर्ने गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका संस्थाले यस वर्ष लगानीकर्तालाई अधिकतम ८० प्रतिशतसम्म लाभांश दिएका छन् ।

१५ करोड ९ लाख रुपैयाँ चुक्तापुँजी भएको नेसनल माइक्रोफाइनान्सले आव ०७५र७६ मा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरी लगानीकर्तालाई ८० प्रतिशत लाभांश प्रदान गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .