ad ad

छापा खबर


  विद्यालयदेखि विश्वविद्यालयसम्मका परीक्षा अझै अनिश्चित, ९० लाख विद्यार्थीको भविष्य अन्योलमा

   विद्यालयदेखि विश्वविद्यालयसम्मका परीक्षा अझै अनिश्चित, ९० लाख विद्यार्थीको भविष्य अन्योलमा

नेपालखबर
असार १२, २०७७ शुक्रबार २:५२,

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ चैतबाट विद्यालय तहदेखि विश्वविद्यालयसम्मकै बन्द भएको पठनपाठनदेखि स्थगित भएका परीक्षा कहिले सुचारु हुन्छन् वा विकल्प के हुन्छ भन्ने अझै अन्योल छ।

लकडाउन खुकुलो भए पनि कक्षाकोठामै उपस्थित भएर पढ्न पाउने विषयमा अनिश्चितता कायमै रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

त्यति मात्र होइन, विद्यालय तहमा स्थगित भएका परीक्षामध्ये एसइईको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भए पनि कक्षा ११ र १२ को औपचारिक निर्णय भएको छैन।

विश्वविद्यालयस्तरमा केही संकायमा केही विषयको सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । केही परीक्षा सञ्चालनको तयारी अवस्थामा थिए । तर, ती परीक्षा स्थगित भएको तीन महिनासम्म कुनै विकल्प नआउँदा विद्यार्थी तनावमा परेका छन्।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या करिब ५६ लाख छ । त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को टिएसएलसी र डिप्लोमामा ९१ हजार विद्यार्थी छन् । त्यसैगरी उच्च शिक्षा अध्ययन गर्ने चार लाखको हाराहारीमा विद्यार्थी कोरोनाका कारण प्रभावित भएका छन्।

काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरी कार्यान्वयनमा लागेको छ।

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.सुबोध शर्माले असहज परिस्थितिका कारण विश्वविद्यालयबाट अन्तिम परीक्षा नलिने र प्राध्यापकको मूल्यांकनकै आधारमा ग्रेडसिट दिने निर्णय भएको बताए।

केयूका सबै कार्यक्रम सेमेस्टर प्रणालीमा रहेको र सीमित विद्यार्थी भएका कारण प्राध्यापकले सही मूल्यांकन गर्न सक्ने गरी निर्णय गरी कार्यान्वयनमा लगेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .