ad ad

छापा खबर


उपत्यकाका थप पाँच स्थानमा फ्लाई ओभर बनाइँने

उपत्यकाका थप पाँच स्थानमा फ्लाई ओभर बनाइँने

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १:४५,

व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ।

थानकोट सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक, कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने सडक विभागले जनाएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्रस्तावित पाँच वटामध्ये थानकोटमा निर्माण गरिने फ्लाई ओभरको (डीपीआर) तयार भई ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए।

त्यसैगरी, कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको छ। बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुने छ। बानेश्वर, त्रिपुरेश्वर र गौशालामा फ्लाई ओभरको सम्भाव्यता अध्ययनका लागि चीनसँग समझदारी पत्रमा हस्ताक्षर भई काम सुरु भएको शर्माले बताए।

चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न हुने छ। यी फ्लाई ओभरको निर्माण चीन र जापान सरकारको ऋण सहयोगमा हुने उनले बताए।

सडक विभागका अनुसार यसअघि चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर फ्लाई ओभर निर्माण गर्न सर्भे तथा डिजाइनका लागि परामर्शदाता चयनका लागि बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .