ad ad

छापा खबर


नेपालको सीमासम्बन्धी पुस्तक प्रकाशन गरेको मात्र भयो, लगाइयो प्रतिबन्ध

नेपालको सीमासम्बन्धी पुस्तक प्रकाशन गरेको मात्र भयो, लगाइयो प्रतिबन्ध

नेपालखबर
असोज ५, २०७७ सोमबार २:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका बिक्री वितरण नगर्न निर्देशन दिएका छन्।

गत मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशन गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले पुस्तक वितरण नगर्न निर्देशन दिएका हुन्।

एक साताअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा पुस्तक प्रकाशन गरिएको थियो।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले निर्देशन दिएलगत्तै मन्त्री पोखरेलको सचिवालयले पुस्तक तत्काल वितरण नगर्ने जनाएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

कूटनीतिक मर्यादाविपरीत मन्त्री पोखरेलको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकबारे सरकारले गम्भीर चासो लिएको छ। सीमासँग सम्बन्धित परराष्ट्र र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाउँदै पुस्तकलाई तत्काल प्रतिबन्ध लगाउनसमेत आग्रह गरेको छ।

कुनै पनि निकायले सीमासम्बन्धी सामग्री प्रकाशन गर्दा भूमि सीमाना क्षेत्रफलका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सीमासम्बन्धी विवाद र राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्छ।

यस्ता विषय समावेश गरेर पुस्तक प्रकाशन गर्ने विषयमा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधानलाई उल्लंघन गरी पुस्तक प्रकाशन भएपछि सबै निकायले आपत्ति जनाएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सो विषयमा केही विवाद आएको बताइन्। उनले भनिन्, ‘एक दुई विषयमा त्रुटि भएको छ, सम्बन्धित निकायसँग छलफल गर्नेछौं।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २९ गते मन्त्रालयलले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा पुस्तक सार्वजनिक गरेका थिए।
उनले विद्यार्थी तथा आम जनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन पुस्तक सार्वजनिक गरेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .