ad ad

छापा खबर


पदाधिकारीविहीन बन्दै लोकसेवा आयोग : विज्ञापन, परीक्षा सञ्चालन र कर्मचारी बढुवासमेत रोकिने

पदाधिकारीविहीन बन्दै लोकसेवा आयोग : विज्ञापन, परीक्षा सञ्चालन र कर्मचारी बढुवासमेत रोकिने

नेपालखबर
फागुन १८, २०७७ मंगलबार २३:३२,

लोकसेवा आयोग चैत दोस्रो सातादेखि पदाधिकारीविहीन बन्दै छ । त्यसअघि पदाधिकारी नियुक्त नभए नयाँ विज्ञापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनका साथै नियमित बढुवासमेत रोकिनेछ ।

आयोगमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन हुुनुपर्छ । त्यसपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संसद् पुनस्र्थापना भइसके पनि अहिलेकै सरकार रहने–नरहने अन्योलले आयोगमा तत्काल पदाधिकारी नियुक्त हुने सम्भावना कम रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा यम बमले लेखेका छन्।

आयोगका अध्यक्ष उमेश मैनाली तथा सदस्यहरू वृन्द्रा हाडा, अशोककुमार झा, ब्रह्मदेव राय र कृष्णचन्द्र झाको ६ वर्षे कार्यकाल १० चैतमा सकिँदै छ । उनीहरू ११ चैत ०७१ मा नियुक्त भएका थिए।

आयोगले वार्षिक ५–६ हजार पदका लागि आवेदन माग्ने गर्छ । तर, यो वर्ष सकिनै लाग्दा दुई हजार पाँच सय १७ पदका लागि मात्र विज्ञापन आह्वान भएको छ । ‘कोभिडले गत वर्षको क्यालेन्डर प्रभावित भयो, हामी गत वर्षकै परीक्षा सञ्चालनको क्रममा छौँ,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने, ‘यो वर्ष त विज्ञापन मात्र आह्वान भएको छ । परीक्षा भएकै छैन ।’ गत वर्ष आह्वान भएको खरिदार पदको परीक्षा पनि अहिलेसम्म हुन सकेको छैन।

आयोगले गत वर्ष साढे चार हजार पदका लागि विज्ञापन गरेको थियो । त्यसमा तीन सय चारजनाले मात्र रोजगारी पाएका थिए । कोभिड– १९ का कारण अघिल्लो वर्षको चैतदेखि निजामती सेवा, चारै सुरक्षा निकाय, शिक्षक सेवा, विश्वविद्यालय सेवा, सार्वजनिक संस्थान, विकास समिति र संगठित संस्थामा नयाँ कर्मचारी भर्ना प्रक्रिया रोकिएको थियो । रोकिएका परिक्षा गत मंसिरदेखि क्रमशः भइरहेका छन्।

आयोगका अनुसार विज्ञापन प्रकाशन, कच्चा प्रश्नपत्र तयारी, परिमार्जन, परीक्षा, उत्तरपुस्तिका परीक्षण र अन्तर्वार्ताका लागि विज्ञ छनोट गर्नुपर्छ । त्यो निर्णय आयोगको पदाधिकारी बैठकले गर्छ । नयाँ पदाधिकारी नआए चैत दोस्रो सातादेखि यो प्रक्रिया पनि प्रभावित हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .