ad ad

छापा खबर


दुई दिनपछि काठमाडौंका धारामा झर्दैछ मेलम्चीको पानी

दुई दिनपछि काठमाडौंका धारामा झर्दैछ मेलम्चीको पानी

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १:४५,

बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गर्नेछिन्। त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ । यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ।

त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुनेछ।

दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ। पानी वितरणका लागि निर्देशनालयले ३० हजार नयाँ धारा जडान गरेको छ भने अन्य ठाउँमा केयूकेएलको पुरानो पाइपमार्फत परीक्षण गर्दै पानी आपूर्ति तयारी गरिएको छ।

मेलम्ची खानेपानी आयोजनाले १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको जनाएको छ । यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो । परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले २०५१ को मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्ची पानीले पखालिदिने वाचा गरेका थिए।

२०५८र५९ मै सुरु मेलम्ची आयोजना २०६४र६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसयता बनेका हरेक प्रधानमन्त्री र मन्त्रीले मेलम्ची पानी यसै वर्ष काठमाडौं आउने दाबी गर्दै आए पनि ढिलासुस्तीलगायत विभिन्न कारण आउन सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .