ad ad

छापा खबर


छैटौंपटक प्रधानमन्त्रीकाे प्लाज्माफेरेसिस, कस्तो छ स्वास्थ्य?

छैटौंपटक प्रधानमन्त्रीकाे प्लाज्माफेरेसिस, कस्तो छ स्वास्थ्य?

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १:४५,

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारक्रममा सोमबार नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ।

१२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया सुरु भएको हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्। सिंगापुरबाट प्राप्त जानकारीअनुसार दिन बिराएर गरिराखिएको रगत शुद्घीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ । यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए पनि शनिबारसम्म लाग्न सक्ने एक चिकित्सकले बताए।

‘प्लाज्माफेरेसिस गरेपछि एन्टिबडी स्तर आदि हेर्ने भएकाले उहाँ शनिबार फर्कने कुरा भएको छ,’ ती चिकित्सकका अनुसार यसअघिको सिंगापुर उपचारपछि स्वदेश फर्किंदासमेत केही साइड इफेक्ट देखिएको थियो ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहले प्रधानमन्त्रीको शरीरमा देखिएको केही बढी मात्रामा मिर्गौलासम्बन्धी एन्टिबडीलाई निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) लाई निरन्तरता दिन पुनः दोस्रोपटक सिंगापुर लगिएको जनाएकी थिइन्।

उनको शरीरमा कामलायकभन्दा भिन्न प्रकारको एन्टिबडी देखिएपछि यो उपचार प्रक्रिया अपनाइएको हो । यसअघि सन् २०१४ मा प्रधानमन्त्रीको हातमा फरक प्रकारको कडा संक्रमण भएपछि र दुई वर्ष अघिसमेत यो एन्टिबडी हेरिएको थियो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकका अनुसार त्यसयताका डोनर स्पेसिफिक एन्टिबडी’ नदेखिएकाले यो उपचार प्रक्रिया अपनाइएको थिएन।

‘यसपटक दाता विशिष्ट एन्टिबडी देखिएकाले प्लाज्माफेरेसिस गरिएको हो,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले भने, ‘यसलाई समयमै शरीरबाट बाहिर निकाल्दा राम्रो हुने आधुनिक चिकित्सा विज्ञानको मान्यता छ ।’

यसअघि प्लाज्माफेरेसिसको पूर्वतयारीअन्तर्गत साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पतालमै प्रधानमन्त्रीको विभिन्न परीक्षण गरिनुका साथै औषधिसमेत चलाइएको थियो । त्यतिबेला उनी मुलुक फर्केपछि औषधिको साइड इफेक्टले ‘हेडेक’ अलि अप्ठ्यारोसमेत देखिएको थियो।

‘कतिपटक प्लाज्माफेरेसिस गर्ने भन्नेबारे बिरामीको एन्टिबडी टाइटर लेभल हेरेपछि चिकित्सकले निर्णय गर्छन्,’ प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराउनुभन्दा अघिदेखि करिब १० वर्षसम्म उनको उपचार प्रक्रियामा संलग्न वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषि काफ्ले भन्छन्, ‘प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले उनलाई ७ पटक प्लाज्माफेरेसिस गरेपछि एन्टिबडी टाइटर सामान्य वा सामान्यको नजिक हुने आकलन गरेका होलान् ।’

सामान्य भाषामा भन्दा प्रधानमन्त्रीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी बढ्नुको अर्थ उनको शरीरले अरूको प्रत्यारोपण गरेको मिर्गौला रहेको कुरा चिन्न थालेको डा‍ काफ्ले बताउँछन् ।

सोमबार ६७ वर्ष पुगेका ओलीको शरीरमा एन्टिबडी टाइटर सामान्य वा सामान्य नजिक भए हालको शारीरिक समस्या तत्कालका लागि समाधान भएको मानिन्छ ।

यसअघि २०७१ वैशाखमा उनमा ढुसी संक्रमणले हुने मस्तिष्क ज्वरो ‘फंगल मेनेन्जाइटिस’ समेत देखिएको थियो । यो समस्या अंग प्रत्यारोपण गराउनेलाई बढी देखिने गरिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .