ad ad

विचार


यसकारण भारतबाट भित्रिँदैन कोरोना

यसकारण भारतबाट भित्रिँदैन कोरोना

कोमल भट्टराई
चैत २०, २०७६ बिहिबार १७:३५,

विश्वका दुईतिहाइभन्दा बढी मानिस अहिले लकडाउनमा छन्। नेपाल अहिले दसौं दिनको लकडाउनमा छ।

यतिबेला नेपालसहित लगभग पूरै विश्व ठप्प छ। नेपाल सरकारले कोरोना भाइरसबाट दोस्रो संक्रमित व्यक्ति भेटेपछि चैत ११ गते बिहान ६ बजेदेखि देशभर लकडाउन लागू गरेको हो।

नेपालले भन्दा १ दिनपछि भारतले २१ दिन लामो लकडाउन घोषणा गरेको छ।

तर कोरोना संक्रमणबाट हामीले चाँडै पार पाउने छौं भन्नेमा म आशावादी छु- यसकारणः

१. व्यक्तिगत बचाउ र सामुदायिक बचाउका कुरा आम जनतालाई जानकारी भएको छ। अहिले विश्व, मुलुक, समुदाय र व्यक्तिबीच चासो र कुराकानी भएको छ।

नेपालमा यस्ता परिवार छैनन्, जसका सदस्य विदेश नगएका होउन्। अहिले विदेश जानेहरू असेचत र सञ्चारको पहुँचबाट टाढा छैनन्, जो क्षणक्षणमा सेल्फी खिचेर आफ्ना प्रियजनलाई इमोबाट तस्बिर पठाउन सक्षम छन्।

तर उनीहरू अहिले कोरोना महामारीतिर केन्द्रित भएका छन्। यतिबेला उनीहरू हरेक दिन नेपालमा रहेका आफ्ना आमाबाबु, श्रीमान वा श्रीमतीसँग भाइबर, मेसेन्जर वा अन्य माध्यममार्फत यही महामारीका विषयमा कुराकानी गर्ने गर्छन्।

२. अहिले नेपालमा संक्रमण पुष्टि भएका ६ जना पनि आफूलाई सामान्य लक्षण देखिनासाथ अस्पताल पुगेका हुन्। तर दुःखको कुरा, उनीहरूलाई सम्बन्धित अस्पतालले यात्रा-विवरण नमागेको बुझिन्छ वा मागेको भए पनि राम्ररी परामर्श नदिएको देखिन्छ।

किनकि दोस्रो संक्रमित कतारबाट आएको कुरा चैत ९ गते मात्र खुल्यो। त्यसपछि उनी चैत ११ गते पुनः अस्पताल तत्कालै पुगिन्। अब यात्रा–विवरणअनुसार समुदायले संसर्गमा आएकालाई अस्पताल वा बाध्यात्मक क्वारेन्टिनमा वा आइसोलेसनमा पुर्‍याउनेछन्

३. समुदाय अब कोरोनाविरुद्ध तयार भइसकेको छ। विदेशबाट फर्किएकालाई घरपरिवारले नै निगरानीमा राखेका छन्। पाँचौं संक्रमित आफ्नै श्रीमतीको करले अस्पताल पुगेका छन्।

विदेशबाट आएकालाई छिमेकीले समेत निगरानीमा राखेका छन् र तिनको संसर्गबाट बच्न हरसम्भव प्रयत्न गरेका छन्। मेरै भतिज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्छन्, जो घर आउँदिनँ भनेर अलग्गै बसेका छन्।

एक टोलका मानिस अर्को टोलमा नआउन् भनेर तगारा तेर्स्याइएका तस्बिरसहित समाचार आएका छन्। अहिले कतिसम्म भएको छ भने अपरिचित व्यक्ति देखिए पुलिसलाई खबर गर्नु भन्ने सूचना टाँगिएका छन्।

गाउँ वा नगरपालिका र वडा कार्यालयले विदेशबाट फर्केका व्यक्तिको लगत तयार गरिसकेको फेसबुकमा देखिएको छ। मैले सोधेका स्थानमा गरिएको सुनेको छु।

४. अन्तर्राष्ट्रिय हवाई यात्रुको आवागमन रोकिएपछि नेपालमा संक्रमितको प्रवेश हुन सक्दैन। चीनको ल्हासामा १ व्यक्ति संक्रमित देखिएका थिए, तर ती निको भइसके। हाम्रो उत्तरी सीमा चीनको तिब्बत संक्रमणरहित भएकाले त्यहाँको स्थलमार्गबाट कोरोना भाइरस प्रसार हुने सम्भावना देखिँदैन।

५. भारतसँगको सीमा खुला छ। तर बिर्सन नहुने कुरा के भने अहिलेसम्म भारतमा रहेका नेपालीमा कोरोना संक्रमण भएको समाचार आएको छैन। यसकारण अहिलेसम्म भारतबाट संक्रमित व्यक्ति आएजस्तो लाग्दैन।

यस्तो किन भयो ?
यसमा मेरा केही तर्क छन्- भारतका केरलामा २१३, महाराष्ट्रमा २१५, उत्तरप्रदेशमा ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ (मार्च ३०)।

अब त्यहाँ रहेका नेपाली र उनीहरू काम गर्ने स्थानमा भारतीय नागरिकको सम्बन्धलाई ध्यान दिनुपर्छ। अर्को कुरा, कोरोना भाइरस, हवाई मार्गबाट यात्रा गर्ने चिनियाँ पर्यटकबाट सरेको देखिन्छ। विश्वका राजनीतिक नेता, मन्त्री र राजा–रानीमा कसरी पुग्यो, त्यो मैले बुझेको छैन।

यसर्थ कोरोना भाइरसको सुरुका वाहक उच्च वर्ग भएको अनुमान गर्न सकिन्छ। यसर्थ केरला र महाराष्ट्रमा काम गर्ने नेपाली श्रमिकको कार्य त्यहाँको उच्च वर्गसँग फ्रन्ट फेसमा रहेर गरिने खालका छैनन्। अधिकतर नेपाली चौकीदार र उच्च वर्गलाई टाढैबाट नमस्कार गर्ने छन्।

उत्तरप्रदेशका ८८ संक्रमित मध्ये ३८ पिलिभतीमा देखिएका छन्। यसमा भने चनाखो रहनुपर्छ।

अतः भारतबाट आएका व्यक्ति आफैं र तिनका परिवार र समुदाय आआफ्ना तहमा सतर्क र जिम्मेवार भए महामारी यतिमै रोक्न सकिन्छ।

यी कुरा हालसम्मका परिवेशका आधारमा भनिएका हुन्।

लकडाउन कहिलेसम्म?
हाम्रो देशमा पनि लकडाउन भारतको स्तरमा नगरी हुँदैन र त्यहाँको संक्रमण प्रसार नरोकिई नेपाल ढुक्क बस्न सक्दैन र मिल्दैन। यसकरण कोभिड-१९ को प्रकोपमा नेपाल-भारत भारण्ड चरा (दुइटा टाउको, एउटै शरीर भएको) जस्तो हो। तसर्थ यस महामारी नियन्त्रणका लागि नेपालले भारतसँग समन्वय र सहकार्य गर्नैपर्छ।

लकडाउनको १४ दिनमा संक्रमित सतहमा निस्किसकेपछि क्लस्टर पहिचान गर्न सकिन्छ। ती स्थानमा कडा किसिमको लकडाउन गर्नपर्छ। कोरोना संक्रमणको लक्षण नै देखिएका र विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टिनमा राख्न घरपरिवार, समुदाय तयार भएका स्थानमा लकडाउन सीमितस्तरको मात्र गर्दा हुन्छ। तर समुदाय तयार नभएका र तयार हुन नसक्ने समुदायलाई पूरै निगरानी गर्न सक्ने लकडाउन गर्नुपर्ने हुन्छ।

अन्तमा, कोरोना संक्रमण विश्व महामारी भएकाले कुनै पनि मुलुक वा विश्वले लकडाउनलाई दीर्घकालीन गर्न सक्दैन। यसर्थ महामारी स्थानीयकृत भएपछि खास चरणका लागि विश्वले कार्यक्रम अगाडि सार्नेछ। त्यसमा नेपालले दृष्टि दिनुपर्ने हुन्छ।

यस प्रकोप रोक्न ध्यान दिनुपर्ने कुरा
सबैभन्दा प्रमुख कुरा समुदायको चनाखो हुुनु नै हो। यसका लागि नेकपा, नेपाली कांग्रेस, मधेसवादी तथा समाजवादीलगायत दलले आफ्ना नगर÷गाउँपालिका तह परिचालन गर्नुपर्छ।

जाँच, जाँच र जाँचका लागि सरकारले तयारी गर्दै छ। अमेरिका नै माग्ने भइसकेका बेला सरकारले गरेका काम प्रशंसनीय छन्। यसर्थ आशा गरौं, तर धेरै आशा गरौं।

वर्तमान महाकारीले विश्वका चिकित्सा शिक्षा, उपचार सेवा र यसको मिसनमै प्रश्न उठाएको छ।

स्मरण रहोस्, कोरोना भाइरसविरुद्ध कुनै खोप छैन, पुराना औषधिको परीक्षण प्रयोग हुँदै छ। अधिकतर संक्रमित सामान्य आराम र पथपरहेजबाटै निको हुन्छन्। चिकित्सकीय सेवा चाहिने संक्रमतिलाई जिल्ला र प्रदेश अस्पतालले उपचारको व्यवस्था गर्न सक्छन्।

अहिलेसम्म संक्रमितको अवस्था हेर्दा ५ प्रतिशतलाई मात्रै आईसीयूको आवश्यकता परेको छ। यी कुरामा सरकारले ध्यान दिएकै होला भन्ने लागेको छ।

अहिले चिनियाँ, दक्षिण कोरिया, क्युबा वा भियतनामको मोडलको कुरा भएको छ।

परीक्षण किट उत्पादन गरेर विश्वलाई निर्यात गर्ने दक्षिण कोरियाले जाँच, जाँच, जाँच भन्नु नौलो कुरा होइन। तर भर्खर ल्याब स्थापना गर्दै गरेको र भर्खर आयात किट आयात गर्न सकेका मुलुकका लागि जाँच, जाँच, जाँचभन्दा पनि समुदायमा आधारित भएर काम गर्न सके नयाँ मोडल हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .