ad ad

फोटोफिचर


महाकालीमाथि ड्रोन उडाएर जयसिंहको खोजी, भारततिर खोज्नै दिइएन (तस्बिरहरू)


उजिर कार्की
साउन २८, २०७८ बिहिबार २२:२८, काठमाडौँ

महाकाली नदीमा बेपत्ता जयसिंह धामीको दुई दिनदेखि ड्रोनबाट खोजी भइरहेको छ। दार्चुलाको व्याँस गाउँपालिकाका ४ वटा वडास्थित महाकालीको तटीय क्षेत्रमा खोजी गर्दा पनि जयसिंह भेटिएका छैनन्। 

बेपत्ता जयसिंह खोज्न नेपाल प्रहरी प्रधान कार्यालयबाट ड्रोन लिएर दुई जना प्रहरी नायव निरीक्षक दार्चुला पुगेका थिए।  सई प्रेम गन्दर्भ र गोबिन्द परियार अहिले जयसिंहको खोजीका लागि त्यहाँ पुगेका हुन्। दार्चुलाका डीएसपी मनोहर भट्टसहितको टोली पनि जयसिंहको खोजीमा खटिएको छ। 

बुधबार बिहान ८ बजेबाट महाकाली नदीको नेपालतर्फको भागमा ड्रोन उडाएर खोजी भइरहेको छ। तर बिहीबारसम्म पनि उनलाई फेला पार्न नसकिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले नेपालखबरसँग बताइन्।

ड्रोन मार्फत ब्याँस गाउँपालिकाका वडा नम्बर २, ३, ४ र ५ का आधा भागमा खोजी गरिएको छ। शुक्रबार ५ कै बाँकी भाग र ६ नम्बर वडामा खोज्ने तयारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

शुक्रबारसम्म खोजेर फर्किने टोलीको तयारी छ। महाकाली नदीको किनारमा पैदल आउजाउ गर्न नसकिने भागमा ड्रोनमार्फत खोजी भएको हो। झण्डै २० किलोमिटर किनारमा ड्रोनमार्फत खोज्नुपर्ने गृह मन्त्रालयको उक्त घटना छानबिन समितिका संयोजक समेत रहेका सहसचिव जनार्दन गौतमले जानकारी दिए। 

जयसिंहको खोजीमा भारतले भने असहयोग गरेको छ। पैदल हिँड्न नसकिने भागमा ड्रोन उडाउन नेपालले अनुमति माग गर्दै पत्र पठाएको भएपनि भारतले कुनै जवाफ नै नदिएको हो।

यसअघि जयसिंह घटनाका बारेमा सोध्दा भने तत्कालै जवाफ दिएको थियो। तर बेपत्ताको खोजीका लागि ड्रोन उडाउन अनुमति माग गर्दा भने कुनै जवाफ नदिएको हो। भारततर्फको भागमा अनुमति नहुँदा जयसिंहको खोजी कार्य प्रभावित भएको छ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पैदल हिँड्न सकिने भूभागमा खोजी गरेका थिए। तर १३ दिन बित्दा पनि भेटिएका छैनन्। बैतडी कञ्चनपुरमा पनि प्रहरीलाई खोजी गर्न भनिएको समितिका संयोजक गौतमले बताए। 

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले भने घटनाको विषयमा जानकारी दिन अस्वीकार गरेका छन्। बिहीबार खोजीकार्य के कसरी भइरहेको छ भन्ने प्रश्नमा उनले समितिका संयोजकसँगै कुरा गर्न भने। 

संयोजक गौतमले भने प्रहरीले नेपालतर्फको भागमा ड्रोनमार्फत खोजी गरिरहेको जवाफ दिए। गत साउन १५ गते ब्यासबाट भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउनेक्रममा भारतीय एसएसबीले तुइन खुस्काइदिँदा जयसिंह महाकाली नदीमा खसेका थिए। 

त्यही दिनबाट स्थानीय र सुरक्षाकर्मीले खोजि थालेका थिए। तर १३ दिन बित्दा पनि उनी फेला परेका छैनन्।  

जयसिंहलाई यसरी खोज्दैछ महाकाली किनारमा प्रहरी (तस्बिरहरु):

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .