काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि स्रोतबाटै छुट्टाछुट्टै फोहोर उठाइने ब्यहोराको सूचना जारी गर्यो। सूचनामा कुहिने (जैविक) र नकुहिने (अजैविक) फोहोर वर्गीकरण नगरे जरिवाना गर्ने चेतावनीसमेत दिइएको थियाे।
वर्गीकृत फोहोर बेग्लाबेग्लै उठाएर कुहिनेबाट कम्पोस्ट मल बनाउने र नकुहिने फोहोर रिसाइकल गरी तथा पुनः प्रयोग गर्न सकिने अवस्थामा भए विक्री गर्ने महानगरले योजना अघि सारेकाे छ।
तर, यो सूचना जारी गरेको दिनदेखि नै काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेको छ। काठमाडौंका सडकमा दुर्गन्ध फैलन थालिसकेको छ ।
‘काठमाडौंसहित उपत्यकाका १७ वटा स्थानीय तहको फोहोर बिसर्जन गर्ने नयाँ ल्याडफिल साइट बञ्चरेडाँडा जाने बाटो निर्माणाधीन अवस्थामा भएकाले फोहोर उठाउन सकिएको छैन’, काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले नेपालखबरसँग भने, ‘सडकलगायत सार्वजनिक स्थलमा फोहोर फाल्न नदिन साउन १ गतेदेखि नै नगर प्रहरी परिचालन गरिएको छ।’
असार २६ गते टेकु ट्रान्सफर स्टेशनमा जम्मा भएको फोहोरबाट दुर्गन्ध फैलन नदिन जीवातु हालेर प्लाष्टिकले छोपिएको थियो। झरीले बञ्चरेडाँडा जाने सडक बिग्रेपछि टेकुको फोहोर नै उठ्न सकेको छैन।
‘९ दिनयता सडकमा फोहोर फाले वापत ३६ हजार रुपैयाँ जरिवाना असुल गरेका छौँ। राति फोहोर फाल्न लागेको अवस्थामा लगन, न्युरोड, नक्साल, लैनचौर, ठमेल, पुतलीसडक क्षेत्रबाट १५ जना कारबाहीमा परेका छन्’, काठमाडौं महानगरपालिकाका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले भने, ‘हामीले एकै पटकमा जरिवाना गरेका होइनौँ। पटक–पटक जनचेतना, सार्वजनिक अपिल गर्दा पनि अटेर गरेपछि बाध्य भएर जरिवाना गर्नु परेको हो।’
साउन १ गतेको सूचना अनुसार कुहिने फोहोर आइतबार र बुधबार अनि नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने छ। यद्यपि, फोहोर व्यवस्थापन गर्ने गाडीमा नकुहिने फोहोर सातामा एकदिन मंगलबार मात्र उठाइने लेखिएको छ।
यो सूचना जारी भएको दिन फोहोर छिटफुट उठ्यो। बाँकी फोहोर ‘लिच्चड’ चुहिरहेको अवस्थामा सडक र गाडीमा लोड गरेर थन्किएका छन्। ल्याडफिल साइड बञ्चरेडाँडा जाने सिसडोल सडक मर्मत हुँदै गरेकाले फोहोर उठ्न नसकेको महानगरका अधिकारीहरु बताउँछन्।
‘काठमाडौंको फोहोर महानगर र निजी क्षेत्रले संयुक्त रुपमा बञ्चरेडाँडामा व्यवस्थापन गर्दै आएका छौँ। फोहोर व्यवस्थापन गर्दा महानगर घाटामा जाने तर निजी क्षेत्र नाफामा छ’, महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘फोहोरलाई मोहरको रूपमा सदुपयोगमा ल्याउन टेकु र फर्पिङमा प्लान्ट स्थापना गर्ने योजना छ। यसबाट महानगरलाई आर्थिक लाभ त हुने नै छ, बञ्चरेडाँडापछि कुन क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने भन्ने समस्या पनि हुने छैन।
न छुट्टियो फोहोर, न बन्यो कम्पोष्ट
महानगरपालिका आफैंले सूचना जारी गरेर कुहिने–नहुकिने फोहोर नछुट्याउनेलाई कारवाही गर्ने चेतावनी दिए पनि महानगर आफैंले फाहोर छुट्याएर व्यवस्थापन गर्नै सकिरहेको छैन । कुहिने र नकुहिने फोहोर कसरी छुट्याएर राख्ने भन्नेबारे महानगरले काठमाडौंबासीलाई सिकाउन पनि सकेको छैन ।
एकातिर महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउने नीतिलाई उपभोक्तासम्म कार्यान्वयनमा लैजान सकेको छैन भने अर्कोतिर ल्याण्डफिल्ड साइटको बाटो मर्मत गर्न नसकेर शहरको फोहोर सडकमै हार लगाएर राख्न थालेको अवस्था छ ।
काठमाडौँ महानगरपालिकाले प्लान्ट स्थापना गरेर कम्पोस्ट मल उत्पादन गर्ने बताइरहेको छ। तर, चालु आर्थिक वर्ष २०७९/०८०को बजेटमा भने कम्पोस्ट मलबाट कौसी खेती कार्यक्रमका लागि मात्र बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कौसी खेती कार्यक्रमकै लागि १६ लाख बजेट छुट्याएको थियो। याे आर्थिक वर्षमा यही शीर्षकमा ५० लाख विनियोजन गरिएको छ।
हेर्नुहोस् फोहोर नउठेका कारण काठमाडौंको सडकमा देखिएको अवस्था -
Shares
प्रतिक्रिया