अटो व्यवसायीले माइतीघरमण्डलामा धर्ना दिएका छन्। सरकार र राष्ट्र बैंकसँग विभिन्न माग राख्दै अटो व्यवसायीले धर्ना दिएका हुन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आन्दोलनमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, रिकन्डिसन व्यवसायी, हेभिइक्विपमेन्ट व्यवसायीको उपस्थिति थियो।
व्यवसायीहरुले जसले कर तिरेको छ उसैलाई सरकारले हेपेको र पेल्न खोजेको आरोप लगाएका छन्। गत आवमा अटो क्षेत्रले भन्सारतर्फ नै अटो आयात गर्दा ९० अर्ब ५ करोड राजस्व बुझाएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
अटो व्यवसायमैत्री नीति नल्याएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघलगायत व्यवसायी संगठनले समेत नाडाको विरोध कार्यक्रमलाई समर्थन गरेका थिए।
नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले व्यवसायी पलायन हुने अवस्था आएपछि सडकमा आउनुपरेको बताए। सरकारले आयात खुल्ला गरे पनि बिक्री गर्ने वातावरण नभएको हुँदा आन्दोलन जारी रहेको बताए।
अटो व्यवसायीले नगद मार्जिन खारेजी, ब्याजदर घटाउनुपर्ने, अटो लोन रिस्क दर घटाउनुपर्ने, मौद्रिक नीतिमा हेरफेरलगायतका माग राखेर आन्दोलन गरेका हुन्।
आन्दोलनमा नाडाका पदाधिकारीसहित सबै अटोमोबाइल व्यवसायी सडकमा उत्रिएका थिए। नाडाले काठमाडौंमा मात्र नभई सातै प्रदेशमा शान्तिपूर्ण धर्ना भएको बताएका छन्।
Shares
प्रतिक्रिया