फागुनकृष्ण चतुर्दशीका दिन अर्थात् शनिबार महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदैछ।
शिवको पूजा गर्ने अघिल्लो रात काठमाडौंको पशुपतिनाथमा हजारौँ भक्तजन पुगेका छन्। नेपाल र भाततका कयौँ स्थानबाट आएका बाबाजीहरुले जगाएको धुनीले पशुपति क्षेत्र उज्यालिएको छ।
अनेक स्वरुप र वस्त्रमा सजिएर आएका बाबाजीहरु आजैदेखि भक्तजनका आकर्षणका केन्द्र भएका छन्। शनिबार दर्शन गराउनका लागि पशुपतिनाथलाई विशेष रुपमा सजाइएको छ।
पशुपति क्षेत्र र पारि वनकाली क्षेत्रमा बाबाजीहरुको बाक्लो भीड छ। शिवजीका बुटीका रुपमा यो पटक पनि बाबाजीहरुले गाँजासहितका पदार्थ लुकिछिपी दिइरहेका छन्।
बाबाजीहरुका अनेक नृत्य र भागभंगीले भक्तजनलाई तानिरहेका छन्। पशुपतिनाथमा भारतबाट पनि सयौँको संख्यामा बाबाजीहरु आउने गर्छन्।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु शनिबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।
यो दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।
Shares
प्रतिक्रिया