ad ad

फोटोफिचर


शालिन स्वभावका ज्ञानेन्द्र : समर्थकको मन जिते, आँशु झार्दै बिदा भए


लक्ष्मी जि.सी र सरोज बैजु
साउन १९, २०८० शुक्रबार १८:३१, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्रले खेल करिअरबाट सन्यास घोषणा गरेका हुन्। 

सन् २००६ देखि राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आएका पूर्वकप्तान ज्ञानेन्द्र पछिल्लो समय खराब लयका कारण आलोचना खेप्दै आएका थिए। 

पछिल्लो समय टोलीमा नियमित स्थान बनाउन नसकेका मल्लले टोलीमा खेलाडीहरूलाई गरेको व्यवहारले समर्थकको मन जिते।

सरल स्वभावका मल्ल आफू टोली बाहिर हुँदा पनि जुनियर खेलाडीसँगै पानी दिँदै हिँडिरहेको दृश्यले सबैको मन जितिरहे।

आफ्नो खेल करिअरमा ज्ञानेन्द्रले आफ्नो आलोचनालाई पनि सहज रूपमा लिँदै अघि बढ्ने कुशल, व्यावहारिक र नेतृत्वदायी छवि बनाएका थिए।

मल्लको स्थानमा भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्न थालेपछि उनले कम मौका पाउँदै आएका थिए। पछिल्लो समय उच्च प्रदर्शन गर्न नसकेका मल्लले शुक्रबार श्रीमती र छोरीको नाम लिँदा केहीबेर भक्कानिए। छोरीको नाम लिँदै गर्दा उनको गला अवरुद्ध भएको थियो।

करिअर यात्रा
सन् २०१७ पछि मल्लको ब्याटिङक्रम अस्थिर बन्दा उनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। जसको असर उनको प्रदर्शनमा देखिएको हो। 

मल्लले नेपाली क्रिकेट इतिहासमा थुप्रै रेकर्ड आफ्नो नाममा लेखाएका छन्। नेपालका सफल ब्याटरमध्ये एक मल्लले पछिल्लो पटक सन् २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेलेका थिए। 

ज्ञानेन्द्रले नेपालबाट ३७ ओडीआई खेलमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन्। 

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दै उनले ५१ रनको पारी खेलेका थिए। मल्ल ओडीआईमा अर्धशतक पूरा गर्ने पहिलो ब्याटर हुन्। 

मल्लले ४५ टि२० आईमा १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका छन्। नेपालबाट टी२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी पनि मल्ल नै हुन्।

सन् २०१९ मा मलेसियाविरुद्ध २० बलमा नै अर्धशतक पूरा गरेका थिए। 

सन् २०१९ मा घरेलु मैदानमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा मल्लले भुटानविरुद्ध शतकीय पारी खेलेका थिए।

भुटानविरुद्ध मल्लले १ सय ७ रन हानेका थिए। उनी उक्त प्रतियोगिताको उत्कृष्ट ब्याटर बनेका थिए। 

त्यसअघि सन् २०१४ को डिभिजन थ्रीमा मल्लले सिंगापुरविरुद्ध १ सय १४ रनको शतकीय पारी खेलेका थिए। 

नेपालले डिभिजन फाइभदेखि थ्री, २०१४ मा टि२० विश्वकप खेल्दा होस् वा २०१८ मा ओडीआई मान्यता पाउँदा मल्ल टोलीका महत्वपूर्ण सदस्य थिए। 

मल्लले नेपालको उमेर समूहमा सन् सन् २००६ र २००८ मा यू १९ विश्वकप खेलेका थिए।

पूर्वकप्तान पारस खड्काले सन्यास लिएपछि नेपाली टोलीको बागडोर ज्ञानेन्द्रले सम्हाल्ने मौका पाएका थिए।

मल्लले सन् २०१९ देखि २०२१ सम्म क्रिकेट टोलीको कप्तानी सम्हाले। 

उनको कप्तानीमा नेपालले १२ टी-२० आईमा खेलमध्ये ९ खेलमा जित र ३ खेलमा हार भोगेको थियो। १० ओडीआई खेलमा ६ खेलमा जित र ४ खेलमा हार भोगेको थियो।

सन्यास घोषणाका क्रममा खिचिएका तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .