धार्मिक एवं लोकआस्थाको पर्व छठ शुक्रबारदेखि विधिवत् रूपमा सुरु भइसकेको छ।
खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ।
भगवान् सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ।
छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी व्रत बस्ने परम्परा छ। छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।
अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान् सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन्।
पञ्चमी तिथिमा दिनभर उपवास बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाइन्छ। त्यसपछि घरको देवीदेवतालाई चढाइएको खीर प्रसादका रूपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ।
भगवान् सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ।
त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रूपमा पर्व सम्पन्न हुन्छ।
यस पर्वमा सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारीलगायत सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो व्रत एकपल्ट लिएपछि प्रत्येक वर्ष लिनुपर्छ भन्ने मान्यता छ।
छठ पर्व मनाउन यतिबेला पोखरी, नदी, तलाउ जस्ता पानीका स्रोत भएका ठाउँलाई सिंगार्ने, सफासुग्घर बनाउने, टेन्ट टाँग्ने क्रम सुरु भइसकेको छ।
काठमाडौँका विभिन्न १३ स्थानमा छठ पर्वको लागि सिंगार्ने काम भइरहेको छ। काठमाडौँको कमलपोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी, गुहेश्वरीलगायतका स्थानमा यसको तयारी गरिएको हो।
नेपालखबरले काठमाडौँको गौरीघाटस्थित गुहेश्वरी पुगेर छठ पूजाको तयारी गरिरहेको तस्बिर खिचेको थियो। हेर्नुस् केही तस्बिर-
Shares
प्रतिक्रिया