ठेचोको खुवा, सानागाउँको परालको सुकुल र लुभुको तानको कपडा भनेझैँ काठमाडौंको टोखा चाकुका लागि प्रख्यात छ।
माघे संक्रान्ति आउँदै गर्दा यति बेला टोखामा चाकु बनाउन भ्याइनभ्याइ छ। माघलाई चाकु, तिलको लड्डु र तरुलको महिनाका रुपमा चिनिन्छ।
१२ महिना, ४ ऋतु, १२ मसान्त र १२ संक्रान्तिहरू विक्रम सम्वतका महत्वपूर्ण गणक हुन्। वैशाखे संक्रान्तिबाट सुरु भएका दिनहरू विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर सकिन्छन्।
यी समय ऋतुअनुसारको खानेकुरा उत्तिकै महत्वपूर्ण मानिन्छ। माघ महिनामा चाकु, तिलको लड्डु, तरुल र चम्सुर-पालुँगोको महिनाका रुपमा चिनिन्छ।
चाकुका लागि टोखा प्रसिद्ध ठाउँ हो। यहाँ बनाएको चाकुले उपत्यकासहित नेपालभर पुग्छ। माघ नलाग्दै टोखा चाकु ब्यवसायीहरूलाई भ्याइनभ्याइ हुन्छ।
अहिले टोखाका युवा युवतीदेखि वृद्धवृद्धासम्म चाकु बनाउन जुटेका छन्। चाकु बनाउँदा सबैभन्दा पहिले सख्खरलाई पानीमा उमालेर बाक्लो बनाइन्छ। त्यसपछि भाँडोमा खन्याइन्छ। सेलाए एउटा खम्बामा झन्ड्याएको किलामा अडयाउँदै सरसर तानिन्छ। यसरी तान्दा चाकु मस्याइलो हुन्छ।
पहिले माटो अथलमा सख्खर पानी फिट्ने गरिन्थ्यो। तर गाह्रो हुने भएकाले किलामा झुन्डाएर तान्न थालिएको हो।
चाकु जति तान्दै गयो, कालो सख्खर उति सुनौलोमा परिणत हुँदै जान्छ। तानिसकेपछि तौलेर आकार दिइन्छ।
चारपाटे, गोलो, समान्य डल्लो आकारका चाकुमा नरिवल, काजु लगायत मिश्रण टाँसेर एक समूहले प्याकिङ गरिन्छ। त्यसपछि बजारमा बिक्रीका लागि पठाइन्छ।
Shares
प्रतिक्रिया