काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
बुधबार दिउँसो पौने २ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खनाल झण्डै दोब्बर मतले विजयी भएका छन्।
यहाँ रास्वपाका खनालले सुरुदेखि नै अग्रता लिएका थिए। यहाँ नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दोस्रो भए।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान सांसद भीमसेनदास प्रधान तेस्रो स्थानमा खुम्चिएका छन्।
यस क्षेत्रमा कांग्रेसका प्रधानले यसअघिका निर्वाचन जित्दै आएका थिए। तर टिच फर नेपालका संस्थापक शिशिरले प्रधानलाई तेस्रोमा खुम्च्याइदिए।
शिशिरले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्।
सन् २०१९ मा उनले युवा सीईओ अवार्ड पनि जितेका थिए। उनले तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकारका रुपमा पनि काम गरिसकेका छन्।
उनी सहसंस्थापक रहेको टिच फर नेपालले देशका ग्रामीण भेगस्थित सरकारी विद्यालयका ५० हजार विद्यार्थीलाई पढाइसकेको छ।
टिच फर नेपालमार्फत स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा फेलोसिप दिने गरिएकोछ।
छनोट भएका युवाले २ वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाइरहेका छन्। यसका लागि टिच फर नेपालले मोबाइल र कम्प्युटरको सहयोग लिने गरेको छ।
Shares
प्रतिक्रिया