ad ad

राजनीति


एमाले फुटाउन पुग्ने संख्या जुटाउन खोज्दै माधव नेपाल

सरकारमा जान अझै अलमल
एमाले फुटाउन पुग्ने संख्या जुटाउन खोज्दै माधव नेपाल

सागर न्यौपाने
साउन १८, २०७८ सोमबार २१:३७, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दल विभाजन गर्न आवश्यक संख्या पुर्‍याउने कसरत थालेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विवाद बढेर मिल्ने सम्भावना नदेखेपछि नेता नेपालले आफ्नो समूहमा बढी भन्दा बढी सांसद र नेताहरु तान्ने प्रयास गरिरहेका छन्।

नेपालको साथमा अहिले प्रतिनिधि सभाका २२ सांसद छन्। उता राष्ट्रिय सभामा वामदेव गौतमबाहेक ९ सांसदको साथ नेपाललाई छ।

नेपाललाई साथ दिएका दोस्रो पुस्ताकासहित १० जना प्रतिनिधि सभा सदस्य भने पार्टी विभाजन भएको अवस्थामा कता खुल्ने टुंगो गरिसकेका छैनन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत लिँदा नेता नेपाल पक्षका ती १० नेता मतदानमा सहभागी भएनन्।

तर, अहिले तिनै १० नेताहरु नेता नेपाललाई एमालेमै राखेर लैजान क्रियाशील छन्। दोस्रो पुस्ताको अनेक जोडबलले पनि एमालेमा कुरा मिल्न सकेको छैन।
ओलीसँग मिल्न नेपालसमक्ष प्रस्ताव लिएर गएका दोस्रो तहका ती नेताहरुलाई उल्टै नेपालले १६ बुँदा दिएका छन्।

ती बुँदामा जेठ २, २०७५ मा फर्कनेदेखि माओवादी त्यागेर एमाले प्रवेश गरी फेरि माओवादी हुन खोजेकाहरूको प्रश्नको चित्तबुझ्दो जवाफ समेत खोजिएको छ। नेपालले दिएका ती बुँदामा नेताहरुको हैसियत, वरीयता, चुनावमा टिकट वितरणको प्रसङ्गसमेत उल्लेख गरिएको छ।

वरिष्ठ नेता नेपालनिकट नेता विरोध खतिवडाका अनुसार नेपालका यी प्रस्तावमा ओली विनासर्त सहमत भए पार्टी अझै एक हुनसक्छ। तर, सहमति हुने सम्भावना अत्यन्त कम रहेको सांसद खतिवडाले बताए।

‘मिल्नुपर्छ भनेर सक्रिय कार्यदल सदस्यहरुलाई १६ बुँदामा सहमति खोजेर ल्याउनुस् भनेर माधव कमरेडले पठाउनुभएको हो,’ खतिवडाले भने, ‘ती प्रस्ताव बोकेर जानुभएका साथीहरु फर्केर फेरि कोटेश्वर आउनुभएको छैन।’

नेता नेपालका १६ बुँदामा भएको प्रगतिबारे कार्यदल सदस्यहरुले केही जवाफ नदिएको उनको भनाइ छ। ‘ओलीको जवाफ लिएर उहाँहरु नआएका कारण पार्टी एकता भइहाल्ने सम्भावना म चाहिँ देख्दिनँ,’ खतिवडाले अगाडि भने, ‘यही अलमलका कारण सत्तारुढ गठबन्धनमा रहने कि अलग्गिने निर्णय गर्न नसकेको अवस्था छ।’

एमालेभित्रको विवादको असर कांग्रेस नेतृत्वको सरकार विस्तारमा समेत परेको छ। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका आधारमा नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउन भन्दै मन्त्रिमण्डल विस्तार तीन सातादेखि रोकिएको छ।

नेता नेपाल आफैँ भने अहिले सरकारमा सहभागी नहुने बरु पार्टीभित्रका अन्य नेताहरु कन्भिन्स गर्ने कसरतमा लागेको स्रोतले दाबी गरेको छ। नेता नेपालले ओली पक्षीय सांसद र केन्द्रीय सदस्यहरुलाई तान्न एक्ला एक्लै भेटघाट गरिरहेका छन्। 

यदि नेपाल पक्ष सरकारमा सहभागी भए वा नयाँ पार्टी गठन गरे स्वतः सांसद पद खारेज हुने भएकोले सांसद पद जोगाउने उपाय अन्तर्गत यो उपायमा नेपाल लागेका हुन्।

सरकारमा जान दबाब दिइरहेका आफूपक्षीय सांसदलाई समेत नेता नेपालले पद जोगिने गरी सहभागी हुनुपर्ने भन्दै हतार नगर्ने मुड बनाएको उनीनिकट एक नेताले बताए।

अध्यक्ष ओलीलाई छोडेर नेता नेपाल पक्षमा पुगेका तत्कालीन वनमन्त्री प्रेम आले र सांसद कृष्णकुमार श्रेष्ठलाई सरकारमा लैजान नेपालले चाहेका छन्। उनीहरुले प्रधानमन्त्री देउवालाई समेत भेटेर मन्त्री बनाइदिन भनेका छन्। तर देउवाले नेपालको निर्णय कुरिरहेका छन्।

ती सांसदबाहेक विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, निरादेवी जैरु र रामकुमारी झाँक्रीलाई मन्त्री बनाउन माग भइरहेको छ। नेपाल पक्षका एक नेताका अनुसार ६ वटा मन्त्रालयसहित सरकारमा जाने सम्भावना छ।

‘हामी सरकारमा जान्छौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘यो हप्ताभित्र पार्टीकै निर्णय लिएर सरकारमा सहभागी हुन्छौँ। अहिलेसम्म ६ मन्त्रालय भन्ने छ, सहमतिको आधारमा घटबढ हुनसक्छ।’ 

देउवा सरकारमा सहभागी हुने तयारी गरे पनि नेपालले अझै परिस्थिति परिपक्व बनाउन चाहेका छन्। बरु केही समय होल्ड गर्दै सरकारमा जान हतार नगर्ने पक्षमा उनी छन्। 

एमालेको २०७७ जेठ २ को अवस्थामा केन्द्रीय समितिमा नेपाल पक्षको ४५ प्रतिशत छ। उनलाई अब संसदीय दलमा ४० प्रतिशत आवश्यक छ। 

यदि दलमा संख्या पुर्‍याउन सके नेता नेपालले नयाँ पार्टी गठन गर्न सक्छन्। उनको जोड आफ्नो पक्षमा सांसद बढाउनु नै रहेको स्रोतको दाबी छ। 

यदि नेपाल पक्षले ४० प्रतिशत पुर्‍याउन नसके सांसद संख्याका आधारमा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक सरकारले प्रतिनिधिसभामा टेबल गर्न सक्छ। 

अहिलेको राजनीतिक दलसम्बन्धी ऐनका आधारमा दल विभाजन गर्न संघीय संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या आवश्यक छ। संघीय संसदका दुवै सदनमा एमालेका १ सय ५४ सांसद छन्। यसको ४० प्रतिशत भनेको ६२ जना हुन आउँछ। 

नेपालको पक्षमा अहिले वामदेव गौतमबाहेक राष्ट्रिय सभामा ९ सांसद छन्। गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन्। प्रतिनिधि सभामा २२ जना खुलेका र नखुलेका १० जना पनि छन्।

नेपाललाई दलमा ४० प्रतिशत पुर्‍याएर विद्यमान राजनीतिक दल अनुसार नै नयाँ पार्टी गठन गरेर जान निकट नेताहरुले सुझाव दिएका छन्। नेता नेपालले यो सुझावबारे विचार गरिरहेका छन्। 

‘अध्यक्ष ओलीसँग असन्तुष्ट साथीहरु माधव कमरेडको सम्पर्कमा हुनुहुन्छ,’ एक नेताले नेपालखबरसँग भने, ‘पार्टी मिल्ने सम्भावना नहुँदा साथीहरु हामीतिरै खुल्दै आउनुहुन्छ।’

त्यसो त ओलीसँग ३ विकल्पमा मिल्न सकिने सम्भावना रहेको नेताहरु बताउँछन्।

  • पहिलो, ओलीले अध्यक्ष पद छोडेमा
  • दोस्रो, ओलीलाई बहुमतले हटाउन सकेमा
  • तेस्रो, स्थानीय तह निर्वाचन आसपास

तर, यी तीनै अवस्था अहिले नरहेको खतिवडाले बताए।

मिल्ने विकल्पमाथि छलफल गरिरहँदा नेता नेपाल भने आफ्ना धारणा विचार र पार्टीबारे भेट्न आउनेलाई बताइरहेका छन्। 

‘नेकपा एमालेलाई विधि, प्रणाली र पद्धतिमा चलाउनुपर्ने माधव कमरेडले बताउँदै आउनुभएको छ,’ सांसदसमेत रहेका ती नेताले भने, ‘पार्टीलाई सोही आधारमा अघि बढाउनुपर्छ भन्दा उहाँमाथि नै प्रतिशोध साँधियो, अहिले त्यही कुरा साथीहरुलाई बुझाइएको छ।’ 

नेपालको पक्षमा कति सांसद–नेता खुल्लान्?  नेताहरुले भन्न चाहेका छैनन्।

तर, सरकारमा सहभागिताबारेको अलमल, अध्यक्ष ओलीसँगको छलफल गर्न देखाएको अरुचिले उनी नेकपा एमालेमा रहने अवस्था कम रहेको निकट नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .