सत्ता साझेदार नेकपा माओवादी केन्द्रको दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको राजनीतिक लाइन र नेताहरुको जीवनशैलीलाई लिएर गम्भीर प्रश्न उठेका छन्।
शनिबार गठन गरिएका आठवटा समूहको तर्फबाट सुझाव दिने क्रममा बोलेका नेताहरुले माओवादीले आफूलाई सर्वहाराको पार्टी भनिरहँदा त्यसकै नेताहरु भने सामान्ती हुँदै गएको गुनासो गरेका छन्।
समूह नम्बर ८ को तर्फबाट रिपोर्टिङ गर्दै टोली नेता युवराज चौलागाईंले पार्टी र नेताको जीवन शैलीमा गम्भीर प्रश्न उठाए।
सहभागी एक नेताका अनुसार उनले बैठकमा सुझाव राख्दै पार्टीको नेतृत्व पारदर्शी हुन नसकेको पनि टिप्पणी गरेका छन्।
'पार्टी र नेताहरुको जीवनशैलीबीच ठ्याक्कै मेल खाएन। हाम्रो पार्टीमा अझै पनि खुलेर बहस गर्न सकिएको छैन', उनले बैठकमा सुझाव राख्दै भने, 'यसबारेमा नेतृत्व र पार्टीको ध्यान गएको छैन। यसमा खुला बहस हुनुपर्छ। पार्टीलाई पारदर्शी बनाउनु अहिलेको आवश्यकता हो।'
बैठकमा उनले पार्टीले आफूलाई सर्वहाराको प्रतिनिधि भनिरहँदा नेताहरु भने सामन्ती बन्दै गएको टिप्पणी गरे। 'पार्टीका अधिकांश नेताहरुको जीवन शैली र पार्टीको राजनैतिक लाइन मिलेको छैन', बैठकमा उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'यसले हाम्रो पार्टीलाई नराम्ररी गाँजेको छ। कसरी सुधार्न सकिएला?'
बैठकमा समूहगत सुझाव दिने क्रममा माओवादीको आफ्नै लाइन नभएको पनि गुनासो गरेका थिए। नेताहरुले माओवादीलाई कांग्रेस-एमालेले पालैपालो एकअर्काविरुद्ध प्रयोग गरिरहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए।
'हाम्रो पार्टी कहिले नेकपा एमालेबाट त कहिले कहिले कांग्रेसबाट एकअर्काविरुद्ध प्रयोग भइरहेको छ', सुझाव दिँदै अर्का नेताले भने, 'माओवादीलाई स्वतन्त्र र आत्मनिर्भर पंक्तिका रुपमा विकास गर्नु अहिलेको चुनौती हो। यसलाई तलैसम्म लागु गर्दै जान सकेमा मात्रै हामी स्पष्ट लाइनसहित उभिन सक्छौँ।'
बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग एकता भएर नेकपा बनाउनुलाई सही कदम भनेकोमा पनि नेताहरुले तिखो टिप्पणी गरेका छन्।
'अध्यक्षको प्रस्तावमा तत्कालीन एमालेसँग एकतापछि नेकपा बनाउनुलाई सही भनिएको छ। नेकपा एकता टुट्नुमा केपी ओली प्रवृत्ति मूल दोषी भनिनु ठीकै हो', बैठकमा सुझाव दिँदै अर्का नेताले भने, 'एमालेसँगको एकतालाई अपेक्षित भन्न सकिन्छ तर त्यो पनि सही थिएन।'
समूहगत छलफलमा सहभागी नेताहरुले एमालेसँगको एकतालाई सैद्धान्तिक रुपमा गलत भनेका छन्। उनीहरुले त्यो एकताबाट समाजवादतिर जान मद्दत गर्ने अवस्था नरहेको पनि उनीहरुको टिप्पणी थियो।
Shares
प्रतिक्रिया