नेपाली कांग्रेसले थप ११ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान गरेको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी रहेका २० जिल्लामध्ये ११ जिल्लाको विवाद समाधान गरेको हो।
कार्यदलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको विवाद टुंग्याएको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए।
‘काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दियालगायतका थप ११ जिल्लाको विवाद टुंगिएको छ,’ उनले नेपालखबरसँग भने, ‘हिजो (मंगलबार) प्याकिङ गरेर राखिएको छ। हामीले बुझेकामात्र छैनौं।’
श्रेष्ठले बुधबार विवाद समाधान भएका जिल्लाहरुको सदस्यता नामावली निर्वाचन समितिमा आइपुग्ने पनि बताए। उनले बाँकी रहेका २० वटै जिल्लाको विवाद बुधबार नै टुंगिने सम्भावना रहेको पनि जानकारी दिए।
‘२० वटै जिल्लाको आज सकिन्छ भन्ने कुरा छ,’ अधिवक्ता श्रेष्ठले भने, ‘हिजै सक्ने तयारी थियो। केही बाँकी होला।’ उनले बुधबार ३ बजे निर्वाचन समितिको बैठक बस्ने बैठकले विवाद टुंगिएका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिने पनि जानकारी दिए।
कांग्रेसले यसअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको थियो। त्यसअघि ५६ जिल्लाको नामावली सार्वजनिक गरेर वडा अधिवेशन सुरु गरिएको थियो।
कार्यदलले नामावली बुझाएपछि निर्वाचन समितिले डडेल्धुरामा लोकेन्द्रबहादुर बमलाई निर्वाचन अधिकृत तोकेर वडा अधिवेशन गराएको छ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा सम्पन्न वडा अधिवेशनमा धाँधली भएको दाबी गर्दै स्वीकार नगर्ने अडान राखेको छ।
Shares
प्रतिक्रिया