नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल सामुदायिक विद्यालय बदल्ने अभियानमा सक्रिय भएका छन्।
उनले विद्यालय बदल्ने अभियान थालनी गर्न विद्यालय र स्थानीयस्तरमा पुगेरै शिक्षक तथा जनप्रतिनिधिहरूलाई आग्रह गर्न थालेका छन् ।
सोही क्रममा नेता पोखरेलले धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानीस्थित माध्यमिक, प्राविधिक तथा व्यवसायिक नमूना विद्यालयमा शिक्षक तथा जनप्रतिनिधिसँग भेटघाट गर्दै उनले विद्यालय बदल्न आग्रह गरे।
‘विद्यार्थी बदल्नु भन्दा राम्रो विद्यालय नै बदलौँ। पुरानो शैलीको पढाइले विद्यार्थीको क्षमता विकास भएन। अब नयाँ पद्दति लागू गरौं। जसले सिकाइमा तीव्रता आउँछ। विद्यालय छाड्ने बेलासम्म विद्यार्थी सीप सिकेको हुनुपर्छ, नेता पोखरेलले आग्रह गर्दै भने।
विद्यालयका प्रधानाध्यापक प्रदीप सिंह र धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजिव यादव, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अभिभावकलाई पाँच लाख रुपैया विद्यालय बदल्ने अभियानको लागि जुटाउन पोखरेलले आग्रह गरे।
‘बच्चालाई तीनवटा कुरा अनिवार्य सिकाउनु पर्यो। एउटा अंग्रेजी भाषा, कम्प्युटर र सीप। विद्यालय छोड्दा उनले यी तीनवटा कुरा जानेको हुनुपर्छ। हामीले बनाएको उनको मातृभाषा लगायतको कुरा छँदैछ’ नेता पोखरेलले भने।
उनले बच्चाको पढाइ कमजोर भएकाले माथि उठाउन आग्रह गरे।
पोखरेल भन्छन् ‘बच्चाको पढाइ अलि कमजोर छ। म्याथम्याटिक्स, साइन्सको लेभल एकदमै तल छ। ५० प्रतिशतमा छ। केही सामुदायिक विद्यालयले राम्रो गरेका छन्। तर औसत विद्यालयको स्तर तल छ क्वालिटीको दृष्टिकोणले। त्यसलाई उठाउन जग राम्रो बनाउनु पर्यो भनेर हामीले विद्यालय बदल्ने अवधारणा ल्याएका छौं।’
साइन्स टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्सको स्तर माथि उठाउन एउटा विश्व स्तरमा चलेको अभियान आफू मन्त्री हुँदा नै गेम चेन्जरको रुपमा ल्याएको उनको भनाइ छ।
उनले विद्यालय बदल्ने अभियानका लागि पाँच लाख रुपैयाँ जोरजाम गर्न र ल्याब खोल्न आग्रह गर्दै शिक्षकलाई प्रशिक्षणको लागि प्राविधिक टोली पठाइदिने प्रतिवद्धता गरे।
‘चारपाँच लाख रुपैयाँ खर्च गरेपछि एउटा ल्याब बन्छ। ल्याब बनेपछि हामीले साइन्स टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्सको विकास गर्न सक्छौं। बच्चाहरुलाई त्यसको लागि मैले विद्यालय बदल्ने अभियानको अवधारणा चलाइरहेकाहरुलाई म पठाउँछु। उनीहरुले तालिम दिन्छ शिक्षकहरुलाई। र त्यो बच्चामा पनि अभिव्यक्त हुन्छन्’ नेता पोखरेलले आग्रह गर्दै भने।
Shares
प्रतिक्रिया