ad ad

राजनीति


सभामुख हटाउन हस्ताक्षर संकलन, एमालेको ठहरः एमसीसीकै कारण गठबन्धन टुट्दैन

‘एमसीसी टेबल हुने बैठकमा सकभर एमाले सहभागी हुँदैन, मतदान भए विपक्षमा भोट हाल्छ’
सभामुख हटाउन हस्ताक्षर संकलन, एमालेको ठहरः एमसीसीकै कारण गठबन्धन टुट्दैन

सागर न्यौपाने
माघ २८, २०७८ शुक्रबार ०:१४, काठमाडौँ

बिहीबार बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौता अनुमोदन गर्नुपर्ने निष्कर्ष निकाल्यो। बैठकपछि कांग्रेस नेताहरुले संसदमा एमसीसी पेस गर्न सभामुख अग्निप्रसाद सापकोटाले बाधा गर्न नमिल्ने बताए।

पुस ७ गतेपछl दलहरूको आग्रह, कोरोनाले गर्दा संसद बैठक सरिरहेको छ। माघ २६ गतेका लागि बस्ने तय भएको संसद बैठक सरकारले सार्न आग्रह गरेपछि फागुन २ गतेका लागि सारिएकाे छ।

चर्को अमेरिकी दबाबका माझ कांग्रेसमा सभामुखलाई हटाएर भए पनि एमसीसी अघि बढाउनुपर्ने आवाज उठ्न थालेको छ। सभामुखलाई हटाउन उनीसँग क्रुद्ध नेकपा एमालेले पनि सघाउने केही कांग्रेस नेताहरुको लेखाजोखा छ। 

तर, एमाले पनि एमसीसी अनुमोदनको पक्षमा नरहेको सो पार्टीका नेताहरुले बताएका छन्। 

बिहीबार एमालेले फागुन २ गते बोलाइएको संसद् बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई मौखिक आग्रह गर्यो। पार्टीको प्रदेश प्रशिक्षण रहेकाले बैठक सार्न आग्रह गरेको एमालेले जनाएको छ। एमालेले भदौदेखि नै संसद् बैठक अवरोध गर्दै आएको छ।

तर, एमसीसीबाट तर्किनकै लागि त्यस्तो आग्रह गरिएको एमालेका एक प्रभावशाली नेताले बताए।

‘अहिले हाम्रो पार्टी प्रष्ट छ, एमसीसीको पक्षमा हामी छैनौँ। त्यही भएर हामीले बैठक सार्न आग्रह गरेका हौँ,’ ती नेताले भने, एमसीसी पास नगर्न र त्यो प्रक्रियामा सामेल नहुन पार्टीभित्र तीब्र दबाब छ।’

उनले एमसीसी टेबल हुने बैठकमा एमाले सकभर सहभागी नहुने र यदि एमसीसीको पक्षमा मतदान भएमा आफ्नो पार्टीले विपक्षमा मत दिने ठोकुवा पनि गरे। 

‘एमसीसी पास गर्न संसदमा ल्याए हाम्रो पार्टी चुप बस्नेछ। हाम्रो पार्टी एमसीसीको पक्षमा हुँदैन,’ उनले भने। 

सरकारमा हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी संसदबाट पास गर्ने योजनामा थिए। तर उनले चाहेजस्तो भएन। 

अहिले जनमत एमसीसी अनुमोदनको पक्षमा नरहेको एमालेको ठहर छ। 

‘हामीलाई देशभरका नेता कार्यकर्ताको सुझाव कुनै हालतमा एमसीसीको पक्षमा उभिनु भएन भन्ने छ,’ उनले थपे।

यतिबेला कांग्रेसलाई गठबन्धन तोडेर भए पनि एमसीसी अघि बढाउन दबाब छ। 

तर, एमालेले भने एमसीसीकै कारण सत्ता गठबन्धन नटुट्ने विश्लेषण गरेको छ।

‘यो गठबन्धन एमसीसीकै कारण टुट्ने देखिँदैन,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘नेपाली कांग्रेसले आफ्नो हैसियत देखेको छ। बरु यिनीहरुले एमसीसी अलि पर सार्न सक्छन्।’

बिहीबार कांग्रेस नेता शेखर कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर गठबन्धन लिएर चुनावमा जान नसकिने बताएका छन्। 

तर, सभामुखमा सापकोटा रहुञ्जेल एमसीसी अघि बढाउन नसकिने भन्दै उनलाई हटाउने प्रयास थालिएको स्रोतहरुको भनाइ छ। त्यसका लागि गोप्य रुपमा सांसदहरुको हस्ताक्षर संकलन समेत भइरहेको स्रोतहरुले बताए। 

सभामुख हटाउन दुई तिहाइ अर्थात् १८२ सांसद चाहिन्छ।

सभामुख सापकोटाले फागुन २ मा संसद् बैठक बोलाएका छन्। 

सत्ता गठबन्धनमा बढ्यो दुरी
एमसीसी अनुमोदनका लागि समय माग्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि कांग्रेस–माओवादी केन्द्रबीचको दुरी बढेको छ।

प्रचण्डलाई विवादमा तानेर एमसीसी अघि बढाउने उदेश्यले सो पत्र सार्वजनिक गरिएको माओवादी केन्द्रका एक नेताले आरोप लगाए। 

‘अहिले प्रचण्डलाई खुइल्याउने, दबाब दिने र सभामुखलाई समेत विवादमा तान्ने प्रयास भइहेको छ,’ ती नेताले भने, ‘सभामुख फाल्ने, एमसीसी पास गर्ने योजनासहित यो काम भइरहेको छ।’

बिहीबार पनि देउवा, प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी पास गरेर गठबन्धन कायम राख्ने प्रस्ताव गरेको स्रोतले जनायो।

‘प्रधानमन्त्रीको अडान कायम छ। उहाँ एमसीसी पास गरेर गठबन्धन जोगाउने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर, प्रचण्ड र माधव नेपालले एमसीसीसहित गठबन्धन जान नसक्ने बताउनु भयो।’

प्रचण्ड चुनावपछि एमसीसी धकेल्न चाहन्छन्। त्यही भएर उनले पार्टीको केन्द्रीय समिति बैठक समेत सारेका छन्।

अमेरिकाले भने तुरुन्त एमसीसी पास गर्न शीर्ष नेताहरुलाई धम्कीपूर्ण भाषामा ताकेता गरिरहेको छ।

बिहीबार नै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले देउवा, प्रचण्ड र ओलीलाई फोन गरी एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा असर पर्ने चेतावनी दिएका छन्। उनले चीनले एमसीसी रोक्न कोसिस गरिरहेको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .