ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को भेला सुरु भएको छ। भेलामा आगामी आम निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष आउने जनाइएको छ। भेलामा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई निम्ताइएको छ।
यो भेलालाई ‘प्रथम राष्ट्रिय विशेष भेला–२०७९’ भनिएको छ। अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धीकरण : मिसन–१६५’ नाम दिइएको एक अवधारणापत्र पेश गरेका छन्।
संघीय निर्वाचनकाे मिति घोषणा हुनुपूर्व नै सही नीति र व्यवहारमा उभिन खोज्ने राजनीतिक दलहरुलाई एक आपसमा एकीकरण गराउने प्रयास सफल पार्न स्वतन्त्र अभियन्ताहरु नै सक्रिय हुने जनाइएको छ।
‘अहिले विकल्पका रुपमा आउन खोजेका नयाँ राजनीतिक दलहरु आपसमा मिल्न तयार छन् कि छैनन्? उनीहरुको राजनीतिक लाइन, नीति र नेतृत्व इमान्दार र सही छ कि छैन ?’ साहुले प्रस्तुत गर्ने प्रतिवेदनमा भनिएको छ, ‘उनीहरु सही नीति र व्यवहारमा उभिन्छन् भने संघीय चुनावको मिति घोषणा हुनुपूर्व नै त्यस्ता राजनीतिक दलहरुलाई आपसमा एकीकरण गराउने प्रयास हामी स्वतन्त्र अभियन्ताहरुले गरौं।’
एउटै वैकल्पिक शक्ति बनेको खण्डमा त्यसलाई स्वतन्त्र अभियानका तर्फबाट समानुपातिकमा सघाउन सकिने बताइएको छ। ‘उनीहरु मिलेर आए र एउटै वैकल्पिक शक्ति बन्यो भने त्यसलाई स्वतन्त्र अभियानका तर्फबाट समानुपातिकमा सघाउन सकिनेछ।’ अवधारणापत्रमा उल्लेख छ।
प्रत्यक्ष वा समानुपातिकमा उम्मेदवारी दिने वा अन्य व्यक्तिलाई सघाउने भन्नेबारेमा आगामी राष्ट्रिय भेलाबाट ठोस निश्कर्ष निकाल्ने बताइएको छ।
‘रवि लामिछानेजस्तो हतारमा पार्टी नबनाउने’
स्वतन्त्र उम्मेदवारी अभियानले वैकल्पिक दलका रुपमा राजनीतिमा आउन खोजेका दल वा व्यक्तिहरुलाई एकीकरढा गर्न नसकेको खण्डमा अभियान्ताहरुले के गर्ने के नगर्ने भन्नेबारे पनि अवधारणापत्रमा उल्लेख गरिएको छ।
‘वैकल्पिक दलका रुपमा राजनीतिमा आउन खोजेका दल वा व्यक्तिहरुलाई एकीकरण गर्न सकिएन भने हामी स्वतन्त्र अभियन्ताहरुले के गर्ने? प्रत्यक्षमा त हामी स्वतन्त्र उम्मेदवारी दिनेछौं या राम्रा व्यक्तिलाई सघाउने छौं,’ अवधारणापत्रमा भनिएको छ, ‘तर, समानुपातिकमा के गर्ने? यसबारे आगामी वृहत राष्ट्रिय भेलामा ठोस निश्कर्ष निकालौं। त्यो भेला गर्नुपूर्व प्रदेश र स्थानीय स्तरमा गएर अन्तरक्रिया, छलफलहरु गरौं, सुझाव संकलन गरौं र आगामी बाटो तय गरौं। अहिलेचाहिँ वैकल्पिक राजनीतिकर्ताहरुको मेलमिलापमा जोड दिऔं।’
अहिले करिब ३ दर्जन स्वतन्त्र अभियन्ताहरु जोडिएको बताइएको छ। ‘अहिले हामीसँग करिब तीन दर्जन स्वतन्त्र अभियन्ताहरु जोडिनुभएको छ। यी अभियानहरुलाई पनि एकत्रित गर्न आवश्यक छ,’ अवधारणापत्रमा भनिएको छ।
तर, अहिले नै नयाँ दल बनाएर जाँदा कस्तो परिणाम आउला भन्नेतर्फ विचार पु¥याउन आवश्यक नभएको बताइएको छ। ‘तर, कतिपय अभियन्ताहरु हामी पनि रवि लामिछानेलेजस्तै अर्को दल खोलेर जाने कि भनिरहनुभएको छ,’ अवधारणापत्रमा भनिएको छ, ‘तर, अहिले नै हतारमा हामी एक थान दल दर्ताका लागि दौडँदा त्यसको कस्तो परिणाम आउला भन्नेतर्फ विचार पुर्याउन आवश्यक छ। राजनीतिशास्त्रको सिद्धान्त अनुसार पार्टी निर्माणको एउटा निश्चित प्रक्रिया र विधि हुन्छ।’
त्यसरी नयाँ दल बनाउन खोज्नु समय नपुग्दै बच्चा जन्माउन खोज्नुजस्तौ भएको बताइएको छ। ‘जसरी राष्ट्र निर्माणको निश्चित प्रक्रिया हुन्छ, त्यसैगरी पार्टी निर्माणले पनि निश्चित प्रक्रिया माग गर्दछ,’ अवधारणापत्रमा भनिएको छ,‘ यो प्रक्रियालाई मिचेर हतारमा पार्टी बनाउन खोज्नु समय नपुग्दै बच्चा जन्माउन खोज्नु जस्तै हो।’
यस्तो छ पूर्णपाठ –
Shares
प्रतिक्रिया