राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुगौली सन्धिपछि पछिल्ला एकाध वर्षमा नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको टिप्पणी गरेका छन्।
नेपालको भूराजनीतिक अवस्थाबारे भएको छलफलमा शनिबार भाग लिँदै लिङ्देनले यस्तो बताएका हुन्।
विदेशीहरुको समर्थन नलिई सत्तामा टिक्न सकिँदैन भन्ने मान्यतालाई बल दिन थालेका कारण समस्या भएको उनले बताए।
'जब हामी नेपालको भूराजनीतिक र परराष्ट्र सम्बन्धको कुरा गर्छौं, सुगौली सन्धिपछि अलि पछिल्लो एकाध वर्षमा नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको मलाई लाग्छ,' उनले भने, 'हस्तक्षेपहरू गोला बारुदको साथमा मात्रै नआउने रहेछन्। सम्बन्धहरु एक हिसाबले मात्र परिभाषित नहुने रहेछन्।'
दलको स्वार्थ भन्दा देशको स्वार्थ माथि राख्नुपर्ने लिङ्देनको भनाइ छ।
'यसलाई हामीले शिरमा राख्यौं भने हाम्रोमा हस्तक्षेप भयो भन्नपर्ने दिन आउँदैन। हामीले हाम्रो देशलाई कस्तो बनाउने, सम्बन्धहरु कस्तो बनाउने भन्ने हामीले नै निर्धारण गर्नुपर्छ,' लिङ्देनले भने, 'जब हामी विचलित हुन्छ स्वभाविक रुपमा अरुले हस्तक्षेप गर्छन्।'
उनले छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध पहिलो सम्बन्ध भएको बताए। उनले साझा परराष्ट्र नीति आवश्यक्ता भएको बताए।
'पहिलो सम्बन्ध भनेको सदियारसागको सम्बन्ध हो। आज त्यो चिज बिर्सिँदै गएको जस्तो अनुभूत हुन थालेको छ,' उनले भने, 'हामीले हाम्रो सत्ता स्वार्थका लागि जे पनि सम्झौता गर्न तयार हुन्छौं, हस्तक्षेपहरु आउने नै भयो।'
Shares
प्रतिक्रिया