जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूराजनीतिक हिसाबमा नेपालको पोजिसन संवेदनशील हुँदै गएको बताएका छन्।
नेपालको भूराजनीतिक अवस्थाबारे शनिबार काठमाडौंमा भएको छलफलमा भाग लिँदै यादवले यस्तो बताएका हुन्।
पछिल्लो समय रसिया र युक्रेनबीचको युद्धबारे नेपालले निर्णय लिने बेला चुकेको पनि उनले बताए।
'पछिल्लो चरणमा रसियाले युक्रेनमाथि गरेको आक्रमण, त्यसको समर्थन गर्न सकिने अवस्थामै छौं अहिले। तर, भारत र चीनसमेतले तटस्थ बसेको अवस्थामा नेपालले एउटा पक्षमा नेपालले एउटा पक्षमा भोटिङ गर्ने कार्यले हामी चुकेका त छैनौं?' यादवले प्रश्न गर्दै भने।
उनले भूराजनीतिक असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूला घटना भएको बताए।
'भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूला घटना भएका छन। अहिले युक्रेन र रसियाको वार भू राजनीतिकै महत्वपूर्ण प्रभावबाट भइरहेको छ,' यादवले भने, 'कोरिया दुईवटा हुनु भूराजनीतिकै प्रभाव हो, ताइवान र इरान पनि भू राजनीतिकै प्रभाव हो'
भूराजनीतिक प्रभावबाट आफ्नो मुलुकको इन्ट्रेष्ट, सार्वभौमसत्ता, आर्थिक उन्नती, सुरक्षा र संस्कृति र सम्पन्नतालाई कसरी बढाउने, कसरी संरक्षण गर्ने भन्ने महत्वपूर्ण विषय जोडिएको हुने उनले बताए।
युक्रेन र रसियाको विषयमा चाँडो बोल्दा कता नयाँ बाटोमा जान लागेको हो कि? भन्ने प्रश्न उठेको उनले बताए।
'हामीले यो बेलामा कता कता बढी नयाँ बाटो लिन लाग्यौं कि भन्ने भएको छ,' उनले भने, 'छिमेकी मुलुक तटस्थ रहेको अवस्थामा नेपालले पनि विचार पुर्याएको भए उचित हुन्थ्यो।'
कसैको पक्ष र विपक्षमा नेपाल नभएको स्पष्ट सन्देश दिनुपर्ने यादवले बताएका छन्।
Shares
प्रतिक्रिया