नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेर विद्यार्थीहरुले आइतवार प्रदर्शन गरेका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले राष्ट्र बैंकको कार्यालय अगाडि आइतवार बिहान संयुक्त विरोध प्रदर्शन गरेका हुन्।
बालुवाटारस्थित सडकमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन्।
प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले चर्का नाराबाजी पनि गरे। प्रदर्शन नियन्त्रणबाहिर जान नदिन राष्ट्र बैंक अगाडिको सडकमा प्रहरी खटाइएको छ।
को को पक्राउ परे?
गभर्नर अधिकारीलाई कार्यालय प्रवेश निषेध कार्यक्रमका क्रममा प्रहरीले अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटासहितलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विनोद बहादुर शाही, सम्राट थापा, भरत महतरा, रवीन्द्र न्यौपाने, रेशमलाल श्रेष्ठ, कृष्णप्रसाद घिमिरेसहित रहेका छन्।
प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिव बाबुराम नेपालीसहितका विद्यार्थीहरु घाइते भएको पनि बताइएको छ।
Shares
प्रतिक्रिया